जस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेखे हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी ओलीले जस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्न आग्रह गरेका छन् । प्रधानमन्त्री केपी ओलीले जस्केलाबाट पसेर प्रधानमन्त्री हुने सपना नदेख्न आग्रह गरेका छन् ।
सोमवार देशबासीका नाममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने दाबी गरे । उनले पार्टीभित्रैबाट घेराबन्दी भएपछि जनतालाई फैसला गर्न दिने निर्णय अनुसार संसद विघटन गरेर चुनावको घोषणा गरिएको बताए ।
अब निर्वाचनका लागि तयार रहन आग्रह गर्दै उनले जननिर्वाचित सरकारले काम गर्न पाउँदैन भने उसले पुनरावेदन गर्न जाने ठाउँ सार्वभौम जनतासमक्ष नै भएको जिकिर गरे । प्रधानमन्त्री ओलीले पार्टीका केही साथीहरुले ४ महिना पनि नसकेको बताएका छन् । सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश दिएको भन्दै उनले आक्रोश ब्यक्त गरे । ‘कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै माझी गुहारे’– उनले भने।
सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको उनको दाबी छ। ‘विगत केही महिनादेखि सरकारलाई कस्तो घेराबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ । प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजियो’ उनले भने।
सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम गर्दा समेत घेराबन्दीमा पारिनु विडम्बणापूर्ण भएको उनले बताए । उनले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आक्रामक रुपमा लागेको पनि आरोप लगाए ।