नेता पौडेलको गिरिफ्तारी सर्वसत्तावादको संकेत : सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलमाथिको दुर्व्यवहार र गिरिफ्तारी सर्वसत्तावादको संकेत भएको बताएका छन् । देउवाले वुधवार विज्ञप्ति जारी गर्दै सरकारको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध देशव्यापी प्रतिरोध गर्ने चेतावनी पनि दिएका छन् ।
तनहुँ जिल्ला ब्यास नगरपालिकाको वडा नं १ र ११ जोड्ने बुल्दी खोलामा नेपाली कांग्रेसकै पालामा निर्माण सम्पन्न भएको र स्थानीय उपभोक्ता समितिले सर्वसम्मतरुपमा निर्णय गरेर निमन्त्रणा गरे पश्चात् उद्घाटन गर्न जाँदै गर्दा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार र गिरफ्तारी गरिएको विज्ञप्तिमा उल्लेख छ। ‘यो अत्यन्तै आपत्तिजनक छ। सरकारको यो निन्दनीय व्यवहारको भ्रत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु’–विज्ञप्तिमा भनिएको छ।
पौडेलमाथिको घटना सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको भन्दै त्यो अभिस्ट पूरा हुन नदिन नेपाली कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी पनि देउवाले दिएका छन् ।
यो पनि
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा