कुनै व्यक्तिको गतिविधिले पार्टी एकतालाई भत्काउन सक्दैनः प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन् ।
उनले कुनै व्यक्तिको पार्टीविरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन नसक्ने पनि वताएका छन् ।
सोमवार विहान प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ –‘‘हाम्रो पार्टी एकताबद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनताविरोधी यस प्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन। नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणामस्वरूप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार हो ।’
राष्ट्रको समृद्धि र नेपाली कम्युनिस्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरूका विरुद्ध एकताबद्ध भएर उभिन उनले नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।