News राजनीति

‘प्रचण्ड’ को औकात उपाध्यक्षको हो, मलाई कारवाही गर्ने हैसियत छैनः ओली

‘प्रचण्ड’ को औकात उपाध्यक्षको हो, मलाई कारवाही गर्ने हैसियत छैनः ओली

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको उपाध्यक्षसरहको व्यक्ति भएको बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान आफूनिकट सांसदहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेकपाको दोस्रो अध्यक्ष भएको र त्यो भनेको उपाध्यक्षसरह हुने बताएका थिए। पार्टी एकताका समयमा प्रचण्डको चित्त बुझाउन दोस्रो अध्यक्ष दिइएको र त्यो भनेको उपाध्यक्षसरहको भएको उनले वताए ।

‘अहिले पनि  पार्टीको अध्यक्ष र संसदीय दलको नेता म हो, मैले गरेका निर्णय वैधानिक हुन्छन्,’ ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने,‘त्यही भएर उपाध्यक्षले गरेका भेला र बैठकले मलाई कारबाही गर्ने कुनै आधार छैन।’ ओलीले प्रचण्ड नेतृत्वमा बसेका बैठक र भेलाले आफूविरूद्ध कुनै कारबाही गर्न नसक्ने बताए। 

आइतबार दाहाल–माधव नेपाल पक्षीय सदस्यको उपस्थितिबिना बसेको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने र पुस ७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको थियो। 

प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जाने आफ्नो रहर नभएको पनि बताएका छन् । पार्टीभित्र आफूलाई घेराबन्दी गर्ने, देशीविदेशी शक्तिसँग मिलेर षड्यन्त्र गर्ने र सरकारलाई काम गर्न नदिने खेल भएपछि आफूले नयाँ जनादेशको निर्णय लिएको उनले बताए ।

ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा तत्परता नदेखाएका कारण पनि अहिलेको अवस्थामा जानु परेको आरोप लगाएका छन् । ‘तीन महिनामा सक्ने भनिएको पार्टी एकतामा पनि प्रचण्डले सिन्को भाँच्न सकेनन् । सरकारको काममा पनि एकपछि अर्को गर्दै अड्चन ल्याएर काम गर्नै दिएनन्,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै भेलामा सहभागी सांसद निरुदेवी पालले भनिन्–‘पार्टीभित्रैबाट भएको असहयोग र सरकारले गरेका राम्रा कामहरुलाई लिएर अव जनतामाझ जानुपर्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले आइतबार राजीनामा दिएका थिए । पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

विशेष