संसद पुनर्स्थापित हुन्छ र सरकार पनि गठन हुन्छ : प्रचण्ड
नेकपा अध्यक्ष पुष्पकमल दाहालले संसदलाई जीवित राख्ने र जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन गरिने वताएका छन् । नेकपा (दाहाल–नेपाल समुह) को संसदीय दलको नेता चयन भएपछि उनले यस्तो वताएका हुन्। संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि उनले बताए ।
नेपाली जनताले लामो समयको संघर्षबाट प्राप्त गरेको संघीय गणतन्त्र, समावेशी लोकतन्त्र र यो प्रतिनिधि सभालाई जीवन्त राख्नेमा आफुले प्रयत्न गर्ने उनले वताए । जनताको भरोसामा सबै राजनीतिक दलहरुसँग सहकार्य गर्दै, सबै माननीय सदस्यहरुको पनि विश्वास लिएर संसदलाई जीवित राख्न र त्यहाँबाट जनता र राष्ट्रको पक्षमा काम गर्न सबै तागत लगाउने उनको भनाई छ।
मंगलबारमात्रै पार्टी अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएको दाहाल–नेपाल समूहले संसदीय दलको नेताबाट पनि ओलीलाई हटाएको हो । मंगलबार अध्यक्ष चयन भएका माधव नेपालको प्रस्तावमा दाहाललाई दलको नेता बनाइएको हो ।
प्रचण्डले ७० प्रतिशतको उपस्थितिमा केन्द्रीय समिति बैठक बसेपछि आफूहरू नै वैधानिक र ठूलो दल भएको बताए । ‘संसदीय दलमा पनि ११५ अहिले नै सहभागी हुनुहुन्छ र अरू केही सांसदहरूले हस्ताक्षर गर्ने वचन दिनुभएको छ त्यसकारण संसदीय दलमा पनि हामी नै वैधानिक छौं’ उनले भने, ‘सबैभन्दा ठूलो दल यसले पनि पुष्टि गर्छ ।’
संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भन्दै उनले संविधान सभाबाट प्रधानमन्त्रीले संसद विघटन गर्न नसक्ने भनेर लेखेको स्मरण गरे ।