ओलीलाई कारवाही गरेको निर्णय निर्वाचन आयोगमा
नेकपा (दाहाल–नेपाल) समूहले मंगलबारको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरु बुधबार निर्वाचन आयोगमा बुझाएको छ ।
उक्त समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेकोलगायतका निर्णयहरु पेश गरेको हो ।
निर्णय वुझाउन गएका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेका अनुसार आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश छ । पाण्डेका अनुसार अरु ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको हो ।
मंगलवार बसेको सो समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निश्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो ।
यसअघि मंगलबार नै केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीको बैठकबाट ४४७ सदस्यीय केन्द्रीय कमिटीलाई विस्तार गरी ११९९ सदस्यीय बनाएको जानकारी आयोगलाई गराएको थियो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुबै पक्षको निवेदनको जाँचबुझ गर्ने, छानबिन गरेर निर्णय दिने बताए ।