News राजनीति

नेकपा विवादः ओलीको भेलामा रायमाझीको ठुलो स्वर !

नेकपा विवादः ओलीको भेलामा रायमाझीको ठुलो स्वर !

नेकपा ओली समूहले आज बागमति प्रदेशस्तरीय केन्द्रीय सदस्यहरूको अभिमूखीकरण कार्यक्रम आयोजना गरेको छ । तीनकुनेस्थित रोयल ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा बोल्दै नेता टोपबहादुर रायमाझीले पदका लागि पाँचवर्ष पनि कुर्न नसक्ने प्रचण्ड र माधव नेपालको अनुहार हालको अवस्थामा हेर्न पनि लायक नभएको बताएका छन् ।

कार्यक्रममा उनले गर्जंदै भने ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर राम्रो गर्नुभएको छ । हिम्मत छ भने प्रचण्ड र माधव नेपालले मध्यवधि निर्वाचनमा भाग लिन सक्नुपर्छ । अन्यथा,नयाँ जनादेशमा जान नसक्ने र चुनावमा हार्ने डरले सडक आन्दोलन गरेर प्रधानमन्त्री र अध्यक्ष खोज्ने कुन तरिका हो ?’ रायमाझीले प्रचण्डलाई आफूचाहिँ ३० वर्षसम्म पार्टी अध्यक्षमै बस्नुपर्ने अनि अहिले प्रधानमन्त्री पनि चाहिने यो कस्तो इच्छा हो ? भन्ने प्रश्न गर्दै अहिलेको अवस्था त्यसैको परिणाम भएको बताए ।

प्रमुख अतिथिको रूपमा उपप्रधानमन्त्री ईश्वर पोखरेलको भनाइ थियो( पार्टी एकतापछि सरकारले मुलुकमा तीव्र विकास गरिरहेको बेला नियोजित ढंगले पार्टीभित्र बिस्तारै झिना मसिना विवादलाई प्रवेश गराउँदै सरकारलाई असफल बनाउन खोजेपछि संसद विघटन गर्न बाध्य पारियो ।

कार्यक्रममा गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कैलाश ढुंगेल, आनन्द पोखरेल, डोरमणि पौडेल, भूमि त्रिपाठीलगायतको उपस्थिति थियो । कार्यक्रमको अन्तमा बालुवाटारमा भोलि बोलाइएको केन्द्रीय कमिटी बैठकमा आउँदा सबैलाई तीन वटा पासपोर्ट साइजका फोटा र नेपाली नागरिकताको फोटोकपी ल्याउन भनिएको थियो ।
यो सामग्री जन आस्थावाट साभार गरिएको हो।
 

विशेष