News

सभामुखको सचिवालयद्वारा ‘अविश्वासको प्रस्ताव दर्ता’ को समय हेरफेर !

सभामुखको सचिवालयद्वारा ‘अविश्वासको प्रस्ताव दर्ता’ को समय हेरफेर !

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि संसद विघटन भएको हल्ला चलिरहेका वेला संघीय संसद सचिवालयले भने प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पुस ५ गते अपरान्ह साढे ३ बजे दर्ता भएको प्रष्ट पारेको छ।

यसअघि सभामुखको सचिवालयले भने अविश्वासको प्रस्ताव बिहान साढे १० बजे दर्ता भएको जनाएको थियो। नेकपाका प्रमुख सचेतक देव गुरुङले पनि प्रधानमन्त्रीले संसद विघटन गर्न लागेको सूचना मिडियाबाट पाएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गरेको दावी गरेका थिए ।

तर, संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने सभामुखलाई सम्बोधन गर्दै विधिवत् पेश भई सभामुखको तोक आदेशपछि सोही दिन अपरान्ह ३ बजेर ३० मिनेटमा कार्यव्यवस्था शाखा प्रतिनिधि सभामा अविश्वासको प्रस्ताव दर्ता भएको जनाएका छन्।

कतिपय मिडियामा साढे १० बजे अविस्वासको प्रस्ताव दर्ता भएपनि भ्रम सृजना गर्न साढे ३ बजेको हल्ला चलाईएको भन्दै समाचारहरु आएका थिए । यस्ता भ्रम फैलिएपछि सचिवालयले विज्ञप्ति जारी गर्दै समयको विषय प्रष्ट पारेको हो।

सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटनको गरेकी थिइन्। राष्ट्रपति कार्यालयले पठाएको पत्र साँझ ५ बजेर १० मिनेटमा संसद सचिवालयमा दर्ता भएको थियो। 
 

विशेष