नेकपा विवादः एकअर्कालाई कारवाही, चार प्रदेश इन्चार्ज जिम्मेवारी मुक्त
नेकपा (दाहाल–नेपाल) समुहले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई अध्यक्षवाट हटाएर माधव नेपाललाई अध्यक्ष वनाउने निर्णयसँगै दुवै समुहमा एक–अर्कालाई कारवाही गर्ने क्रम चलेको छ ।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । बिहीबार बसेको ओली समूहले प्रचण्डलाई कार्यकारी अध्यक्षबाट हटाएको छ।
यसैगरी, प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्जलाई समेत जिम्मेवारी मुक्त गरिएको छ । यसअघि प्रदेश १ का इन्चार्ज रहेका भीम आचार्यलाई हटाएर उनको ठाउँमा सुवास नेम्वाङलाई संयोजक वनाईएको छ ।
प्रदेश २ मा ओली निकटकै सत्यनारायण मण्डललाई कायम गरिएको छ। बागमती प्रदेशकी इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई संयोजकको जिम्मेवारी दिइएको छ। गण्डकीमा पृथ्वीसुब्बा गुरूङ र लुम्बिनीमा शंकर पोखरेल संयोजकमा कायम भएका छन्। यी दुई मुख्यमन्त्री ओलीनिकट हुन्।
कर्णालीमा जनार्दन शर्मालाई हटाएर मणि थापालाई प्रदेशको जिम्मा दिइएको छ। थापा पूर्वमाओवादी समूहबाट आएका हुन्। सुदूर पश्चिममा भीम रावललाई हटाईएको छ । उनको ठाउँमा लेखराज भट्टलाई संयोजक तोकिएको छ। उद्योग मन्त्री भट्ट पनि पहिला माओवादी थिए।
जनवर्गीय संगठनको मोर्चामा जनार्दन शर्मालाई हटाएर टोपबहादुर रायमाझीलाई संयोजक बनाइएको छ भने काठमाडौं उपत्यका समन्वयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ।