News राजनीति

संसद विघटन विरुद्ध आन्दोलनमा जान देउवाको आनाकानी !

संसद विघटन विरुद्ध आन्दोलनमा जान देउवाको आनाकानी !

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको भेलाले संसद विघटन विरुद्ध चरणबद्ध आन्दोलनको विकल्प नभएको निष्कर्ष निकालेको छ । आन्दोलन पक्षधर नेताहरूको राजधानीको अनामनगरमा सम्पन्न भेलाले जारी केन्द्रीय कमिटी बैठकमा आन्दोलन पक्षधरको एउटा आवाज बनाउने निर्णय पनि गरेको छ ।

सभापति शेरबहादुर देउवा पक्षले संसद विघटनको विरोधमा तत्काल सडक आन्दोलनमा जान आनाकानी गरेको भन्दै वरिष्ठ नेता पौडेलले सभापति देउवालाई छुट्टै भेटेर भेलाका निष्कर्ष र आन्दोलनका कार्यक्रमबारे जानकारी गराउने भएका छन् ।

भेलाले पुस १३, १४ र १५ गते जिल्लाव्यापी प्रदर्शन, त्यसपछिका तीन दिन संघ र प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन, तेस्रो चरणमा स्थानीयतहस्तरीय र चौथोमा वडास्तरमा विरोध कार्यक्रम गर्नुपर्ने योजना वनाएको छ । योजना अनुसार आन्दोलनका कार्यक्रम ल्याउन केन्द्रीय समिति र सभापति देउवालाई आग्रह गरिने एक केन्द्रिय सदस्यले जानकारी दिए ।

भेलामा महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव तथा नेताहरु प्रकाशमान सिंह, रामशरण महत, अर्जुननरसिंह केसी, शेखर कोइराला, गगन थापालगायत २२ केन्द्रीय सदस्य सहभागी थिए । 
 

विशेष