एक महिनामा भारतमा कोभिड खोपको प्रयोग सुरु, नेपालमा के छ तयारी ?
भारतमा कोरोनाभाइरस खोपको परीक्षण र उत्पादन अन्तिम चरणमा प्रवेश गरेको र अबको एक महिनामा त्यहाँ कोभिड खोपको प्रयोग सुरु हुनसक्ने जनाईएको छ ।
पश्चिमी देशहरूमा कोरोनाभाइरस विरुद्ध बनेका खोपहरूको प्रयोग हुन थालिसकेको र भारतमा पनि तयारी अवस्थामा रहेका बेला नेपालमा त्यसको आपूर्ति कहिले र कताबाट होला भन्ने जिज्ञासा बढिरहेको छ।
नेपालले पनि आफ्नो प्रारम्भिक आवश्यकता भारतबाटै पूर्ति गराउने पहल भइरहेको दिल्लीस्थित नेपाली दुतावासले जनाएको छ । नेपालले खोप प्राप्त गर्ने पहलका क्रममा दिल्लीस्थित दूतावासले त्यहाँका खोप निर्माता तथा सरकारी अधिकारीहरूसँग थालेको संवाद आशलाग्दो रहेको राजदूत निलाम्वर आचार्यले बताएका छन्।
यसै सिलसिलामा यही साता भारतको खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटका वरिष्ठ अधिकारी तथा भारतको नीति आयोगका प्रमुखसँग राजदूत नीलाम्बर आचार्यले कुराकानी गरेका थिए। यूकेको अक्सफर्ड यूनिभर्सिटीले एस्ट्राजेनेका औषधि कम्पनीसँग मिलेर विकास गरेको खोप सेरम इन्स्टिच्युटले बनाउँदैछ। उक्त खोपको प्रभावकारिता ७० देखि ९० प्रतिशत हुने बताइएको छ।
सेरम इन्स्टिच्यूटको क्षमता निकै ठूलो रहेको र नेपालको आवश्यकता पनि उसले सम्बोधन गर्न सक्ने आचार्यले वताए । भारतले आफ्नो आवश्यकताको निम्ति उत्पादन गर्ने जति खोप हुन्छ त्यसमा नेपालको आवश्यकता पनि थपे उत्पादन गर्ने कम्पनीलाई भन्न नेपाल पनि लाभान्वित हुनसक्छ।
गत महिना नेपाल भ्रमणमा आएका बेला भारतीय विदेशसचिव हर्ष शृंगलाले नेपालको खोप आवश्यकता भारतको प्राथमिकतामा रहने बताएका थिए। बिहीवार राजदूत आचार्यले भारतको नीति आयोगका प्रमुख कार्यकारी अमिताभ कान्तसँग कोभिडविरुद्धको खोपको उत्पादन तथा उपलब्धताबारे कुराकानी गरेका थिए। कान्तले पनि भारतको खोप सहयोगमा नेपाल प्राथमिकतामा पर्ने बताएको दूतावासले उल्लेख गरेको छ।
नेपालले सुरुमा आफ्नो जनसंख्याको २० प्रतिशतलाई पुग्नेगरी खोप आपूर्ति गर्न खोजिरहेको छ जसमा अग्रमोर्चामा रहेर काम गर्ने तीन प्रतिशतलाई पहिलो चरणमा अनि जोखिम समूहमा रहेकाहरू १७ प्रतिशतलाई दोस्रो चरणमा खोप दिन खोजिएको छ।
तुरुन्तै सबै एकैचोटि आउने नभएपनि पहिलो चरणमा करिब ६० लाख मानिस वा एक करोड २० लाख मात्राको खोप आउन सक्ने उनले वताए । विशेषतः भारतमा बनेका खोप सस्तो पर्ने अनि आपूर्ति सजिलो हुने उनीहरू बताउँछन्। पैसा सस्तो हुनुका साथै उक्त खोपलाई सामान्य चिसो तापक्रममा सुरक्षित भण्डारण गर्न सकिनु पनि महत्वपूर्ण फाइदा भएको उनले बताए। ‘यो खोपलाई हामीसँग अहिले नै उपलब्ध सामान्य कोल्ड चेनमा पनि भण्डारण गर्न सकिन्छ,’ उनले भने।
अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेको खोपलाई भारतको पुनेस्थित विश्वकै अग्रणी खोप निर्माता कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गर्दैछ।
कोभिशील्ड नाम दिइएको यो खोपको अन्तिम चरणका परीक्षणहरू भइरहेका छन् र यसले भारतीय सरकारसँग ‘आपत्कालीन प्रयोग’ का लागि अनुमति मागेको छ। भारतको हैदराबादस्थित कम्पनी भारत बायोटेकले इन्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा बनाइरहेको कोभ्याक्सीन नामक अर्को खोपको पनि तेस्रो चरणका क्लिनिकल परीक्षण जारी छ।
यसले पनि भारतीय सरकारसँग आपत्कालीन प्रयोगको अनुमति मागेको छ। साथै क्याडिला हेल्थकेअरले बनाइरहेको जाइकोभ–डी नामक खोपको पनि तेस्रो चरणमा परीक्षण भइरहेको छ। रुसी खोप स्पुत्निक–फाइभको परीक्षण भारतमा पनि भइरहेको छ।
बीबीसीको सहयोगमा