वागमती प्रदेशका मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता
वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको छ । नेकपा (दाहाल–नेपाल) पक्षले पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएको हो।
भर्खरै राजीनामा दिएका मन्त्री शालिकराम जमकरट्टेल सहितले प्रदेशसभा सचिवालयमा गएर अविश्वास प्रस्ताव दर्ता गराएका हुन् । योसँगै वागमती प्रदेशका मुख्यमन्त्री पौडेल अल्पमतमा परेका छन् । ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८० जना सांसद छन् ।
पार्टी विभाजनपछि तीमध्ये तत्कालीन एमालेका ५८ जना थिए । संसदीय दलको निर्वाचनमा डोरमणिले अष्टलक्ष्मी शाक्यलाई २४ का विरुद्ध ३४ मत ल्याएर पराजित गरेका थिए ।
तत्कालीन माओवादीका २२ सांसद समेत थप्दा अब प्रचण्ड–माधव पक्षमा ४६ सांसद छन् भने ओली पक्षमा ३४ सांसद छन्। सरकार गठन गर्न दुवै पक्षले कांग्रेसको साथ लिनुपर्नेछ । तर त्यसअघिनै प्रदेशसभा भंग हुनसक्ने चेतावनी प्रधानमन्त्रीले सांकेतिक रुपमा दिइसकेका छन् ।