वामदेवले प्रचण्डलाई भने– एकताको ठाउँ राख्नुस्, म प्रयास जारी राख्छु
नेकपा दहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र उपाध्यक्ष वामदेव गौतमबीच शनिवार एक घण्टा भेटवार्ता भएको छ । दुई नेताबीचबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको हो ।
भेटमा प्रचण्ड र गौतमबीच पछिल्लो राजनीतिक घटाक्रमबारे छलफल भएको बताइएको छ । भेटमा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन आग्रह गरेका थिए । गौतमले भने प्रचण्डको अनुरोधको स्पष्ट जवाफ दिएका छैनन्। तर पार्टीमा जे गर्दा पनि एकताको ठाउँ भने राखेर मात्रै गर्न प्रचण्डलाई आग्रह गरेको जनाईएको छ ।
गौतम निकट एक नेताका अनुसार उनले पार्टीमा फेरि पनि एकता कायम गर्ने पक्षमा आफ्नो प्रयास जारी रहने वताएका थिए । ‘म प्रतिनिधिसभा विघटनको विपक्षमा छु र त्यो अडानमा कायमै छु’ उनले भनेका थिए–‘तर तपाईहरुले जे गरे पनि एकताको ठाउँ राख्नुस । म एकताको लागि प्रयास जारी राख्छु। म फेरि पनि तपाईले बोलाउँदा कुरा गर्न आउछु ।’
गौतमलाई प्रचण्डले भने आफूहरुलाई साथ दिन आग्रह गरेका थिए । गौतम भने प्रतिनिधिसभा विघटनको मुद्दामा सर्बोच्च अदालतको फैसलापछिमात्र आफ्नो कित्ता प्रष्ट पार्ने सोचमा रहेको बताइएको छ ।
पछिल्लो समय गौतम र रामवहादुर थापा बादल दुवैतिर नलागी अपसी छलफलमा थिए । तर अन्तिममा बादल ओलीतिर लागे पनि गौतम भने कतै खुलेका छैनन् ।