छलफल र बैठक भन्दा पनि काम बढी गर्नोस : मन्त्री त्रिपाठी
नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले छलफल र बैठक भन्दा पनि काम बढी गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । सरकारले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने बताएका उनले त्यसैमा दत्तचित्त भएर काम गर्न निर्देशन दिए।
आइतबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले कोभिड–१९ को भ्याक्सिन पारदर्शी ढंगले खरिद गरिने वताए । कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा कुनैपनि ढंगले अपारदर्शी काम हुन नदिने पनि मन्त्री त्रिपाठीको अठोट छ।
खरिद प्रक्रियामा आफुलाई प्रभावित पार्न खोजे हस्ताक्षर नै नगर्ने वताएका उनले आफ्नो मान्यतामा साथ दिन मन्त्रालयका कर्मचारीहरुलाई आग्रह समेत गरे । उनले भने, ‘जनतालाई हामी निःशुल्क र पारदर्शी ढंगले भ्याक्सिन उपलब्ध गराउने अठोटका साथ अगाडि बढ्छौं । कुनैपनि खरिदमा कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले काम हुँदैन ।’
मन्त्री त्रिपाठीले मन्त्रालयको कार्य क्षेत्रभित्र कसैको हस्तक्षेप सहन नसक्ने समेत बताए । ‘सबैले आ–आफ्नो कामको मात्रै चिन्ता गर्नु होला, त्यसो भए समस्या उत्पन्न हुदैन’ मन्त्री त्रिपाठीले भने।