नेकपा विभाजनप्रति चीनियाँ चासो, ४ सदस्यिय टोली काठमाण्डौंमा
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेपालमा गहिरिदै गरेको राजनितिक संकटकाविच छिमेक चीनबाट उच्च तहका नेताको टोली ४ दिने नेपाल भ्रमणमा आएको छ ।
नेपालको पछिल्लो राजनीतिक घटनाक्रम बुझ्न टोली आइतबार काठमाडौं आइपुगेको हो । चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोली काठमाडौं आएको जनाईएको छ।
टोलीले नेपालमा राजनीतिक भेटघाट तथा राष्ट्रपति सी चिनफिङको सन्देश प्रवाह गर्ने जनाईएको छ । नेपाल स्थित चिनियाँ राजदूत होउ यान्छीले पनि पहिलेदेखि नै नेकपामा विवाद आएपछि पार्टी फुट्न नहुने र मिलेर जान आग्रह गरिरहेकी थिइन् । होउले नेकपामा विवाद हुँदा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेकपाका नेताहरुको निवासमा पुगेरै मिलेर जान आग्रह गरिरहेकी छन् ।
स्रोतका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नेकपा विभाजनप्रति असन्तुष्टि जनाएको छ । यता प्रचण्ड–नेपाल समूहले चीनले आफूहरूलाई मान्यता दिएको बताउँदै आएको छ । प्रधानमन्त्री ओलीले चीनसँगको समझदारी कार्यान्वयनमा तदारूकता नदेखाएको, मिलेनियम च्यालेन्ज कम्प्याक्ट परियोजना (एमसीसी) अघि बढाउन खोजेको र पार्टीभित्रको विग्रह व्यवस्थापन नगरी फुटतिर अग्रसर रहेकाले चीनको साथ पाउन मुस्किल रहेको उनीहरूको जिकिर छ ।