वावुराम भन्छन्– सुकुम्बासीका घर छैनन्, कम्युनिष्ट हुँ भन्ने अनि अयोध्या बनाउने?
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले सडकबाट टिपेर मन्त्रीहरू बनाइरहेको भन्दै विरोध गरेका छन्। आईतवार काठमाडौंमा जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले यस्तो वताएका हुन ।
पुर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संसदमा बहुमत हुँदाहुँदै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको वताउँदै उनी पहिलेदेखि नै गणतन्त्र, संघीयताविरोधी रहेको दावी गरे । ‘सुकुम्बासीका घर छैनन्। कम्युनिष्ट हुँ भन्ने अनि अयोध्या बनाउने?’ उनले भने, ‘यस्तो मानिसलाई हामीले प्रधानमन्त्री बनायौं यही गल्ती भयो।’
प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव घोषणाको नाटक गरेर मन्त्रिपरिषद विस्तार गरेको बताएका छन्। चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने पनि उनले बताए।
उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको बताए।
‘म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो। मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ, रेकर्डमा हेर्नुस्. यो नैतिकताले मिल्दैन,’ भट्टराईले भने।
यसअघि संसद् विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले प्रदर्शन गरेको थियो। शान्तिवाटिकाबाट सुरु भएको ¥याली पुतलीसडक, पद्मोदय, भद्रकाली, सुन्धारा हुँदै शान्तिवाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।