अदालतलाई धम्क्याएर र तर्साएर निर्णय गराउने होइनः देउवा
वरिष्ठ नेता रामचन्द्र पौडेल तथा केन्द्रिय सदस्य शेखर कोईरालाले सर्वोच्च अदालतले नगरे सडकवाट संसद पुनर्स्थापना गर्ने वताईरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले भने अदालतमा विचाराधीन मुद्दामा नबोल्ने बताएका छन् ।
भक्तपुरमा आयोजित पार्टीको विरोध सभामा बोल्दै देउवाले भने–‘अदालतमा विचाराधीन मुद्दामा यो गर यो नगर भनेर कांग्रेस बोल्दैन । कांग्रेस अदालत मान्ने पार्टी हो ।’
सरकारले, संसद्ले बदमासी गरेपनि अन्तिम निकाय भनेको न्यायालय हो भन्दै उनले ‘अदालतलाई धम्क्याएर, तर्साएर निर्णय गराउने होइन’ भने ।
सभापति देउवाले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णय भने असंवैधानिक र अलोकतान्त्रिक भएको बताए । उनले सरकारले संसद् विघटन गरेर निर्वाचनसमेत घोषणा गरिसकेकाले अब कसरी जाने भन्नेबारे छिट्टै केन्द्रीय समितिको बैठकले टुंगो लगाउने बताए ।
सरकारको कदमको विरोध गर्ने तर त्यसबारे अदालतले जस्तो निर्णय दिएपछि स्वीकार गर्ने सभापति देउवाले बताए ।
प्रधानमन्त्री ओलीको कदमको विरोधमा आयोजित सभामा देउवाले पटकपटक अदालतमा विचाराधीन मुद्दामा यस्तै हुनुपर्छ भनेर पार्टीका कुनै पनि नेताले भन्न नहुने बताए । त्यसो गर्नु भनेको अदालतलाई धम्क्याएको हुने उनको भनाइ थियो ।