नैतिकता गुमाएका दुई एसपी निलम्बित, अनियमितताको आरोपमा छानविन
अनियमितताको आरोप लागेका नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) निलम्वनमा परेका छन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय, कर्णालीमा रहँदा अनियमितता गरेको अभियोगमा गृह मन्त्रालयले बुधबार एसपीद्वय रामेश्वर यादव र विमल बस्नेतलाई निलम्बन गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसपछि गृह मन्त्रालयले उनीहरुलाई निलम्वन गरेको हो ।
प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले गैरव्यवसायिक क्रियाकलाप गरेको उजुरी परेपछि निलम्बन गरेर छानबिन थालिएको बताएका छन्।
दुवैको घट्ना छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमेश रञ्जितकारको नेतृत्वमा छानविन समिति बनेको छ । रञ्जितकार प्रहरी प्रधान कार्यालयको उजुरी छानविन शाखामा कार्यरत छन् ।
प्रहरी संगठनमा दुवै एसपीको छवि राम्रो नरहेको प्रहरी श्रोतकै भनाई छ ।
एसपी बस्नेत राष्ट्रिय अनुसन्धान विभागबाट सेवा परिवर्तन गरी प्रहरीमा प्रवेश गरेका अधिकृत हुन् ।
ट्र्राफिकमा रहँदा उनीहरुले मातहतका इकाइबाट मासिकरुपमा असुली गरेको उजुरी परेको छ।
यसैगरी, यादव सिन्धुलीमा कार्यरत रहँदा गाँजा तस्करसँग मिलेर काम गरेको भन्दै गन्हाएका एसपी हुन् । गाँजा उत्पादन गर्नेप्रति नरम देखिएको भन्दै सर्वेन्द्र खनाल नेतृत्वमा रहेका वेला पनि उनी माथि प्रहरी मुख्यालयले छानविन गरेको थियो ।