News राजनीति

ओलीले जबसम्म म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले माफ गर्ने छैनः प्रचण्ड

ओलीले जबसम्म म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले माफ गर्ने छैनः प्रचण्ड

नेकपा (दाहाल–नेपाल) समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रवादी नेता नै नभएको टिप्पणी गरेका छन् । ओलीको सिद्धान्त भनेको ‘बयलगाडाको सिद्धान्त’ हो भन्दै उनले अहिले पनि ओली बयलगाडामै रहेको पुष्टि भएको वताए ।

प्रतिनिधिसभा विघटनविरुद्ध आयोजित विरोधसभालाई भृकुटीमण्डपमा सम्बोधन गर्दै प्रचण्डले ओली गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक सिद्धान्तको विरुद्धमा रहेको आरोप लगाए । ‘आँधी वेरी आयो मैले पनि मानिदिए भनेर वहाँले गणतन्त्र मानिदिनु भएको थियो’–प्रचण्डले भने–‘तर वहाँ गणतन्त्रको पक्षधर नेता होईन । त्यो कुरा अहिले पनि पुष्टि भयो ।’

दाहालले पार्टी एकताको प्रस्ताव लिएर सबैभन्दा पहिले आफूनै ओलीको निवासमा गएको स्मरण गरे । अर्को प्रसंगमा प्रचण्डले प्रतिनिधिसभा भंग नभएको दावी पनि गरे । आफूहरु जीवित रहेको भन्दै केपी ओलीको सरकारमात्रै विघटन भएको बताए । प्रचण्डले भने–‘केपी ओलीले संविधानविरुद्धको काम गरेर आफूलाई कलंकको टीका लगाएका छन् । जबसम्म उनले पश्चाताप गर्दैनन्,म अपराधी हुँ भन्ने छैनन् तबसम्म उनलाई इतिहासले माफ गर्ने छैन ।’

प्रचण्डले सर्बोच्च अदालतले प्रतिनिधिसभाा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । ‘हामीले उहाँ सच्चिनु भयो भन्ठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु’– उनले भने।

आफ्नो सभा अदालतलाई फैसलाको लागि सहजीकरणका लागि आयोजना गरिएको बताए । 

विशेष