नेकपा सचिवालय बैठक सुरु, ओली किन अनुपस्थित ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । वैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिती छैन ।
पूर्वनिर्धारित समयबाट एकघण्टा ढिलो गरिएको वैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै सुरु भएको हो ।
प्रधानमन्त्री सचिवालयका अनुसार ओली कुनै कार्यक्रममा रहेकाले वैठकमा सहभागि हुने÷नहुने टुङ्गो लागेको छैन । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्तावमाथि छलफल प्रारम्भ भएको थियो । बैठकमा प्रधानमन्त्री ओलीले प्रस्तावमाथि छलफल नै नगर्ने प्रस्ताव राखेपछि चर्काचर्कीसमेत भएको थियो।
बैठकमा ओलीले १० दिन सचिवालय बैठक रोक्न माग गरेका थिए । तर, बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने र प्रचण्डको प्रस्तावमाथि छलफल गर्नुपर्ने अडान लिएका थिए। सो क्रममा ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको पनि बताएका थिए । उनले आजको बैठकमा उपस्थित नहुने समेत बताएका थिए।
श्रोतका अनुसार प्रधानमन्त्री ओली आजको वैठकमा सहभागि नहुने सम्भावना धेरै छ।