News राजनीति

सुदूरपश्चिममा ओली पक्षका मन्त्री पठानसिंह बोहरा पदमुक्त

सुदूरपश्चिममा ओली पक्षका मन्त्री पठानसिंह बोहरा पदमुक्त

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई पदमुक्त गरेका छन्। बोहरा केपी शर्मा ओली पक्षवाट मन्त्री वनेका थिए ।

डडेल्धुराबाट प्रदेशसभा सदस्यमा निर्वाचित बोहरा २०७४ साल फागुन ५ गते भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका थिए। बोहराले भने आफू काठमाडौंमा भएको र बर्खास्त गरिएकोबारे जानकारी नभएको बताए।
 
मन्त्री बोहरालाई मुख्यमन्त्रीले संविधानको धारा १६९ को उपधारा २ (ख) बमोजिम पदमुक्त गरेका हुन् । उक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री भट्टले आफैँसँग राखेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

सुदूरपश्चिममा यति बेला नेकपाभित्र ओली र दाहाल–नेपाल पक्षधरबीच सांसद तानातान देखिएको छ । सभामुखबाहेक नेकपाका ३८ सांसद रहेको सुदूरपश्चिममा सुरुदेखि नै दाहाल–नेपाल पक्षधर मजबुत छ ।

ओली पक्षमा पदमुक्त भएका मन्त्री बोहरासहित तीन जना मात्रै खुलेर लागेका थिए । पछिल्लो समय ओली पक्षधरमा खुल्ने प्रदेश सांसदको संख्या आठ पुगेको बताइन्छ ।

दाहाल–नेपाल पक्षधर रहेका भट्ट नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्न २७ सांसदको आवश्यकता पर्छ । हाल प्रदेशसभामा नेपाली कांग्रेसका १२ र राजपाका दुई सांसद छन् । दुवै प्रतिपक्षी दलका सांसदहरू एक भएर वर्तमान सरकार फेर्न पनि ओली समूहका १३ जना सांसदको आवश्यकता पर्छ । 
 

विशेष