सँधै भरिभराउझैँ हुने अख्तियारको हिरासत अहिले किन खाली ?
ठूला भौतिक संरचना निर्माणको ठेक्का सर्वत्र हात पार्ने, काम अड्काउने र सम्पन्न काममा पनि गुणस्तर कायम नगर्ने पप्पु कन्स्ट्रक्सनका मालिकलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यही साता कारबाही प्रक्रिया अघि बढाउने भएको छ । टेकुस्थित पुल बनाउने ठेक्का लिएको कन्स्ट्रक्सनको बदमासीबिरुद्ध मुद्दा विशेष अदालत लाने तयारी भएको बताइन्छ । कन्स्ट्रक्सनका मालिक हरिनारायणप्रसाद साह रौनियार र उनका छोरा सुमित हुन् । हरिनारायण संघीय समाजवादी फोरम, हाल जनता समाजवादीमा सांसद छन् ।
केही दिनभित्र पप्पु र उसको सहायक कम्पनीका हर्ताकर्ताहरू अख्तियारको फन्दामा पर्ने निश्चित रहेको स्रोतको दाबी छ । टेकु र कालिमाटीबीचको विष्णुमती नदीमाथि बनाइएको पुल निर्माणकै क्रममा लच्किएपछि अख्तियारले कारबाही प्रक्रिया अघि बढाएको हो । २२ करोड रूपैयाँ लागतको उक्त पुल निर्माण सम्पन्न नहुँदै खराब हालतमा देखिएपछि प्रयोगमा ल्याइएको छैन । त्यसैगरी पप्पुले निर्माणको ठेक्का पाएको मीनभवन र तीनकुनेबीच बागमतीमाथिको पुल पनि गुणस्तरहीन भेटिएपछि निर्माण कार्य रोकिएको धेरै भइसकेको छ । पप्पुले जिम्मा लिएका एक दर्जन भन्दाबढी पुल र अन्य निर्माणको ठेक्का लथालिङ्ग अवस्थामा रहेको बताइन्छ । उक्त काण्डमा संलग्न इञ्जिनियर र कर्मचारीहरू समेत तानिने पक्का छ ।
सँधै भरिभराउझैँ हुने अख्तियारको चिसो सिँढीको हिरासतमा अहिले जम्मा दुईजना मात्र छन् । ठूला माछा समातिन छाडेपछि पाँच र सात हजारवाला आरोपितहरूलाई राख्ने गरिएको छ । आयोगले स्टिङ अपरेशनमात्र अपनाएकोले थोरै रकमवाला मात्रै समातिने गरेको स्रोत बताउँछ । सेवाग्राहीको भीड हुने कार्यालयमा समातिने घुस काण्डमा प्रायः यस्तै थोरै रकममा आरोपितहरू मात्रै पर्ने गरेका छन् । उनीहरूका अनुसार मोटो रकम घुस खाने कर्मचारी तथा पदाधिकारीहरू स्टिङमा पर्दै पर्दैनन् किनभने तिनले कार्यालय वा बाटोघाटोमा बसेर डिल गर्दैनन् । आयोगले धेरै समयदेखि ठूला माछा समात्न सकेको छैन ।
आयोग हातामा ४० जनासम्म अटाउने हिरासत कक्ष छ । काठमाडौं र उपत्यका बाहिरको कार्यालयमा खटिने अख्तियारको प्रहरी टोलीमा ४ सय ५१ जना छन् भने टंगालमा मात्रै २ सय जति कार्यरत छन् । आयोगको नियमित बैठकमा अचेल सानातिना मुद्दाको एजेण्डा मात्रै हुने गरेको स्रोतको दाबी छ । अस्तिको हप्ता लाल बकैया नदी नियन्त्रण आयोजनाको एउटा मुद्दा भने चलाइएको छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।