बेलायतबाट फर्केका ५ यात्रुमा कोरोना, भाईरस नयाँ की पुरानो ?
नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सरकारले पुसयता बेलायतबाट नेपाल फर्केका यात्रुहरूलाई परीक्षण गराउन अनुरोध गरेसँगै पाँच जनालाई संक्रमण पुष्टि भएको छ। तर उक्त संक्रमण नयाँ हो–होइन भनेर थाहा हुन सकेको छैन ।
कोरोना संक्रमितको भाइरस नयाँ हो/होइन भनेर यकिन गर्न स्वाब हङकङ पठाइने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वाबलाई ‘जिन सिक्वेन्सिङ’ मार्फत् भाइरस नयाँ हो कि पुरानै हो भनेर पत्ता लगाउन हङकङ पठाउन लागेको हो।
अहिले हङकङ पठाउन लागिएको पाँच वटै पोजेटिभ स्वाबलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राखिएको छ। प्रयोगशाला स्रोतले यही साताभित्रै स्वाबलाई विश्व स्वास्थ्य संगठनको सहकार्यमा हङकङ पठाइने जानकारी दिए।
हङकङ पठाएपछि अर्को एक साताभित्र भाइरस नयाँ वा पुरानो हो भनेर नतिजा आउने जनाईएको छ ।
सुरूमा बेलायतमा देखिएको उक्त नयाँ प्रकारको कोरोना अहिले फ्रान्स, स्पेन, क्यानडा, अमेरिका, जापान, दक्षिण अफ्रिकासँगै भारतमा पनि भेटिएको छ।
पुरानो भाइरसभन्दा ७० प्रतिशत बढी संक्रामक रहेको भनिएको नयाँ भाइरस छिमेकी भारतमा पनि फेला परेपछि नेपालमा समेत चिन्ता थपेको छ।