News

पुर्व राष्ट्रपति भन्छन्– संविधानका पक्षमा अदालतमाथि भरोसा छ

पुर्व राष्ट्रपति भन्छन्– संविधानका पक्षमा अदालतमाथि भरोसा छ

पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधि सभा विघटनपछिको परिस्थितिले लोकतन्त्र, संविधानवाद, राष्ट्रिष्यता सबैमाथि दूरगामी प्रभाव पार्ने काम भइरहेको वताएका छन् ।

४५औँ राष्ट्रिय मेलमिलाप दिवका अवसरमा तेजतीर्थ प्रतिष्ठानले शान्ति वाटिकामा आयोजना गरेको कार्यक्रममा डा. यादवले अनिश्चित बाटोमा देश गइरहेको वताए । ‘यसको टुंगो कसरी लाग्ने ? निश्चय नै प्रतिनिधिसभा कार्यकारीबाट असंवैधानिक ढंगबाट भंग भयो । कसरी संवैधानिक बाटोमा ल्याउने यसमा राजनीतिक दल, नागरिक समाज र पत्रकारको भूमिका छ’ उनले भने–‘यो विषय अदालतमा पुगेको छ । यो कुराको परीक्षण अदालतले गर्दै छ । कुनै पनि कुरा विधिसम्मत छ कि छैन भनेर परीक्षण गर्न सबैको विश्वास र भरोसा भएको अदालत नै हो । मेरो पनि भरोसा त्यहीँबाट न्याय हुन्छ भन्ने आशा छ । अदालतबाट प्रजातन्त्र, संविधान, यो व्यवस्था र राष्ट्रियताका लागि फलदायी ‘भर्डिक्ट’ आउनेछ भन्ने आशा गरौँ ।’

उनले आफनो मन्तब्यमा भनेका छन्–‘ बीपी र गणेशमान जुनबेला आउनुभयो, त्यसबेलाको परिस्थिति क्षेत्रीय र हाम्रो राष्ट्रिय राजनीति सही थिएन । राष्ट्रियतालाई कसरी जोगाउने, लोकतन्त्रको गाडीलाई कसरी अघि बढाउने भनेर मेलमिलापको नीति लिएर उहाँहरु नेपाल फर्कनुभएको थियो । मेरो विचारमा क्षेत्रीय राजनीति अहिले त्योभन्दा झन् जटिल भएर आएको छ । हाम्रो भूराजनीति सामरिक अवस्थालाई चिन्तन नगरेर स्वस्थ एउटा विदेश नीति नल्याइकन हामीले हाम्रो राष्ट्रको जगेर्ना गर्न गाह्रो हुन्छ । अहिले सिर्फ क्षेत्रीय मात्र हैन, अन्तर्राष्ट्रिय राजनीतिको पनि अन्तर्राष्ट्रिय शक्ति राष्ट्रको ध्यान पनि तानिएको छ । त्यसको कारण छ कि हामी दुईवटा ठूलो देशको बीचमा अवस्थित छौँ । दुईवटा ठूला देश अहिले आमने–सामने खडा छन्, उनीहरुको तानातान चलिरहेको छ । त्यो हामीले पढिरहेका छौँ बुझिरहेका छौँ ।’

उनले नेपालमा अहिले उत्तर र दक्षिणको परेड भइरहेको वताए । ‘त्यसले अन्तर्राष्ट्रिय राजनीतिको ध्यान थप आकर्षित गर्दै छ । हाम्रो राष्ट्रका लागि त्यो सुखद् हुँदैन । यो अवस्थामा मैले, तपाइँले र यो देशका लोकतान्त्रिक संस्थाहरुले यो आफ्ना–आफ्ना कर्तव्य निर्वाह गरेन भने हामीले राष्ट्रको भलो गर्न सक्दैनौँ’ उनले भनेका छन्–‘पछिल्ला दिनहरुलाई हेर्दा यहाँको राजनीतिक दल र नेतृत्व, त्यत्रो ठूला क्रान्तिहरु ००७ साल, ०४६ साल र ०६२÷६३ को आन्दोलनपछि लोकतन्त्रमाथि आक्रमण गरिरहने संस्थालाई फालेर नयाँ व्यवस्था सुरु भयो । नयाँ व्यवस्थाको प्रतिनिधित्व गर्न म तपाइँ सबैको आर्शीवादले जिम्मेवारीमा पुगेको थिएँ । अहिले नागरिक भएर राष्ट्रको अवस्था हेर्दा धेरै चिन्ता लागिरहेको छ, छटपटी बढिरहेको छ । जुन राष्ट्रले मलाई त्यो सम्मान र जिम्मेवारी दियो र मेरो हातबाट संविधान जारी भएको थियो ।’ 

दुईवटा संविधानसभाको निर्वाचन गरेर बडो सकसपूर्णरुपमा जनताको सामुन्ने संविधान जारी गर्ने सौभाग्य प्राप्त भएको उनले स्मरण गरे । ‘त्यसलाई अघि बढाउने कुरामा आज केही समस्या देखिँदै छन् । म तपाइँहरुलाई फेरि एकपटक सम्झाउन चाहन्छु कि त्यो प्रतिनिधिसभा, संविधान, हामीले संघर्षबाट ल्याएको व्यवस्था र यसका संरचना यी सबैलाई ट्रयाकमा राख्न सजग भएर आ–आफ्नो भूमिका खेल्न नेपाली जनताको काँधमा जिम्मेवारी आएको छ’– उनले भने।

खासगरी राजनीतिक दलहरु, त्यसमा पनि लोकतन्त्रको हिमायती गौरवपूर्ण इतिहास भएको नेपाली कांग्रेसले सानातिना फाइदाका लागि केही काम गर्नु नहुने उनले वताए । ‘व्यक्तिभन्दा राष्ट्र ठूलो हुन्छ । लोकतन्त्रको विधिमार्फत हामीले यी सबै कुरा प्राप्त गरेका हौँ । प्रतिनिधिसभामा तीन करोड जनताको प्रतिनिधित्व हुन्छ । संविधानसभामा त ६०१ जना प्रतिनिधि सबै समुदाय, सबै कुनाकाप्चाका प्रतिनिधि थियौँ’ उनले भने–‘केही कुरा समाधान नभए पनि ती पछिल्लो समय समाधान हुँदै अघि बढिरहेको थिए, निराकारण हुने प्रक्रियामा थिए । यो संविधानलाई नयाँ चुनाव गराएर पाँच वर्ष स्थिरताको अभ्यास हुनै लाग्दा त्यसको विपरीत आज त्यो संस्थालाई बिदा गरेर लोकतन्त्रलाई आघात पारिएको छ । संविधानका व्यवस्थाहरु प्रयोग हुन पाएकै छैनन् ।’

कार्यकारिणीले राष्ट्रिय हित र राष्ट्रियताको दूरगामी प्रभावलाई पनि विचार नगरेर जुन बाटोमा हिँडाउन खोज्दैछ, यसमा सबै सजगता हुनु पर्ने यादवले वताए । ‘तब मात्र राष्ट्रिय मेलमिलापको सान्दर्भिकता हुन्छ । राष्ट्रिय शक्ति मिले भने सबै कुराको निदान हुनसक्छ’ उनले भनेका छन्–‘तर, राष्ट्रिय शक्तिहरु अहिले जस्तै बाँडिए भने लोकतन्त्रको गाडीले बाटो छोडेको छ, त्यसलाई राजमार्गमा ल्याउन सकिँदैन ।’

विशेष