नेपाल–भारत नक्सा विवाद घरेलु राजनीतिको नतिजा हो : भारतीय विदेशमन्त्री
भारतीय विदेशमन्त्री एस जयशंकरले दुई देशबीच पछिल्लो एक वर्षदेखि कायम नक्सा विवादलाई घरेलु राजनीतिको नतिजाको रुपमा ब्याख्या गरेका छन् ।
भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा विदेश मन्त्री जयशंकरले अधिकांश छिमेकीहरुमा लोकतान्त्रिक व्यवस्था रहेको हुँदा सबैले आ–आफ्ना हिसाबले राजनीति गर्ने गरेका कारण समेत विवाद देखिने गरेको जनाएका छन् ।
‘उनीहरुको आफ्नो राजनीति छ, हाम्रो आफ्नै राजनीति छ’ उनले भनेका छन्–‘मुख्य कुरा विवादलाई कसरी व्यवस्थापन गर्ने र समस्याको समाधानका लागि साझा बिन्दु कसरी पहिल्याउने भन्ने हो ।’ तर, छिमेकसँगको सम्बन्धमा पछिल्ला वर्षहरुमा व्यापक बद्लाव आएको समेत उनले दाबी गरेका छन् ।
विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको उनको दावी छ ।
‘अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन्’ उनले भनेका छन्–‘त्यो आपसी समझदारीमै भइरहेको छ।’
उनले पछिल्लो समय भारतका तर्फबाट लगातार भएका उच्चस्तरीय भ्रमणको शृखंलातर्फ संकेत गरेका छन् । डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल, त्यसलगत्तै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौं आएका थिए ।
भारतीय उच्च अधिकारीहरुबाट भएका लगातारका यी भ्रमणलाई भारतको नेपालसँगको संवादहीनता तोड्ने प्रयासका रुपमा अथ्र्याइएको छ ।
नेपालको संविधानको विषयलाई लिएर भारतले जनाएको आपत्तिलाई कुनै एउटा घटना विशेषका रुपमा हेर्नुपर्ने र त्यसैका आधारमा दुई देशबीचको सम्बन्धका बारेमा निष्कर्षमा पुग्न नहुने जय शंकरको भनाई छ ।
भारतले नेपालको संविधान जारी गर्दा आफ्ना चासोहरुलाई बेवास्ता गरेको भन्दै विरोध जनाएको थियो । त्यसबाट आक्रोशित बनेको भारतले नेपालमाथि करिब ६ महिना लामो अघोषित नाकाबन्दी समेत गरेको थियो ।