सरकारले कोरोना जाँच्ने मान्छे नै पाएन, ‘एन्टिजेन परीक्षण’ रोकियो
परीक्षण गर्न आउनेहरू नै नभएपछि सरकारले काठमाडौं उपत्यकामा ‘एन्टिजेन’ परीक्षण स्थगित गरेको छ। सोमबारदेखि सुरू भएको एन्टिजेन परीक्षण मंगलबारसम्म गरेर बुधबारदेखि बन्द गरिएको हो।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले ‘एन्टिजेन’ परीक्षणमा मानिसहरूको आकर्षण नदेखिएको वताए ।
सुरूमा ३ हजार जनाको परीक्षण गर्ने भनिए पनि १५ सय जनाको मात्र परिक्षण भएको थियो । मानिसको सहभागिता कम देखिएपछि फिल्डमा गएर बुझ्दा मानिसहरूको परीक्षणमा आकर्षण नदेखिएको उनले वताए ।
दुई दिनमा १५ सय जनाको परीक्षण गर्दा १२० जना अर्थात् जम्मा ८ प्रतिशतमा पोजेटिभ देखिएको थियो । जुन अहिले पिसिआर परीक्षणबाट पोजेटिभ देखिएको भन्दा दोब्बर कम हो। अहिले पिसिआर परीक्षणबाट औसत १८ प्रतिशत व्यक्तिमा पोजेटिभ देखिएको छ।
कोरोना पोजेटिभ देखिए जागिरमा जान नपाइने, १४ दिन घरमै बस्नुपर्ने र दैनिक जिवन यापन प्रभावित हुने झमेलाले मानिसहरु परिक्षण गर्नै नआएको महाशाखाको वुझाई छ ।
मानिसहरूमा रोगसँगको डर पनि कम हुँदै गएको पाण्डेले वताए । परीक्षण गराउन मानिसहरूको भीड समेत नहुने गरेको उनले जनाए।