राजातन्त्र र हिन्दु राष्ट्रको माग गर्दै हेटौंडामा राप्रपाको प्रदर्शन
राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा प्रदर्शनसहित शुक्रबार हेटौंडामा मोटरसाइकल र्याली गरेको छ।
हेटौडाको सानोपोखरा स्थित पार्टी कार्यालयबाट निस्किएको मोटरसाईल र्यालीले बजार परिक्रमा गरेको थियो। र्याली र प्रदर्शनका क्रममा राजा र हिन्दुत्वसँगै भ्रष्टाचार, धर्म परिवर्तन र बेरोजगारी लगायतका विषयमा नाराबाजी गरिएको थियो।
र्यालीपछि सीमा चोकमा आयोजित सभालाई सम्वोधन गर्दै राप्रपा केन्द्रीय सदस्य मधु अधिकारीले कांग्रेस–कम्युनिस्टको गलत निति र अवधारणाले मुलुक अन्धकारमा फसेको वताए । जनताले परिबर्तन खोजेको र त्यो परिवर्तनकारी शक्ति राप्रपा हुने उनको धारणा छ ।
पछिल्लो समय राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै देशका प्रमुख सहरहरुमा प्रदर्शन भईरहेको छ । हालसम्म राष्ट्रिय प्रजातन्त्र पार्टी, विश्व हिन्दू महासंघ, केशरबहादुर बिष्टको राष्ट्रिय शक्ति नेपाल, हरिबोल भट्टराईले नेतृत्व गरेको नेपाली कांग्रेस (बेपी), प्रकाश कोइरालाले नेतृत्व गरेको नेपाली कांग्रेस (राष्ट्रवादी) र शिवसेना नेपाल लगायतका ब्यानरमा प्रदर्शनहरु भईरहेका छन् ।
तर, अव हुने आन्दोलनमा राप्रपाले नेतृत्व गर्ने अध्यक्ष कमल थापाले जनाएका छ । थापाले ट्वीटरमार्फत हिन्दु राष्ट्र र राजसंस्थासँगै भ्रष्टाचार, बेरोजगारी, धर्मपरिवर्तनविरुद्धमा अब हुने राष्ट्रवादी आन्दोलनको नेतृत्व राप्रपाले गर्ने बताएका हुन् ।
देशव्यापी आन्दोलनमा ऐक्यवद्धता जनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा भने आफैँ प्रदर्शनको आयोजना गर्दैछ । राजसंस्था र हिन्दूराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय पजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल र्यालीको आयोजना गर्ने भएको हो । झापामा हुने कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने तयारी छ ।
झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
राजसंस्था र हिन्दूराष्ट्रको पुनःस्थापना,संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण,कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभावलगायत जनजीविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न र्याली आयोजना गर्न लागिएको लिङ्देनले बताए ।