‘खराव नियत भएकाले छाल गन्ने जिम्मेवारी पाए पनि कमिसन खान्छ’
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले खराव नियत भएका ब्यक्तिलाई ‘छाल गन्ने जिम्मेवारी दियो भने त्यसमा पनि कमिसन खान्छ’ भन्दै न्याय क्षेत्र पनि नियतमै खोट भएकाहरुका कारण बदनाम भएको बताएका छन् ।
न्याय क्षेत्रमा देखिएको विकृति विसंगतिबारे अध्ययन÷अनुगमन गर्ने क्रममा शुक्रबार वीरगञ्ज पुगेका कार्कीले विकृति विसंगती रोक्न सबैको भूमिका महत्वपुर्ण हुने वताए ।
‘नियत खराब भएको मानिसलाई छाल गन्ने जिम्मेवारी दियो भने त्यसमा पनि कमिसन खान्छ भनिन्छ’ उनले भने– ‘नियत नै खराब हुनेहरुका कारण न्याय क्षेत्र पनि बदनाम भएको छ।’ यस्ता विकृति रोक्न कसैको एक्लो प्रयासले सम्भव नभएकाले सबै सरोकारवाला जिम्मेवार हुनुपर्नेमा उनले जोड दिए ।
मुद्धा अनुसन्धानमा देखिएका कमजोरीको दोष पनि न्यायपालिकामाथि लगाउने गरिएको विषयमा कार्कीको गुनासो छ।
न्यायाधीशले कागजात र कानुनका सिद्धान्त हेरेर फैसला गर्ने भएकाले जुलुस र मिडियाले कसैलाई अपाराधि करार गर्दैमा त्यो नै सत्य मान्न नहुने उनको तर्क छ । ‘कुनै मुद्धाका अभियुक्तलाई बाहिर अपराधीकै रुपमा व्यवहार गर्दा न्याय सम्पादनमा कठिनाइ हुन्छ’ उनले भने–‘पत्रपत्रिकामा अपराधी कै रुपमा प्रस्तुत गरिएको हुन्छ, नागरिक समाजले त्यस्तै भन्छन् । तर कागजात हेर्दा त्यस्तो देखिदैन, केलाई हेर्ने त ?’