News मनोरञ्जन अर्थ

सरकारको लगानीमा ११ करोडको फिल्म हल !

सरकारको लगानीमा ११ करोडको फिल्म हल !

इलाम सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्र घर निर्माण हुने भएको छ। प्रदेश सरकारको ११ करोड १० लाख ३९ हजार ८३८ रुपैयाँको लागतमा सिनेमा हल निर्माण हुन लागेको हो।

भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए।

बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ। भवनमा ४७ साना सवारीसाधन र दुई सयभन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ। विसं २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको छ।

अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ। सोही ठाउँमा पार्किङस्थलसहितको चलचित्रघर बनाइने भएको हो।

स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो।

अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ। नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै २३ करोड रुपैयाँमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो।

प्रदेश नं १ सँग भने १७ करोड रुपैयाँमा सम्झौता भएको थियो। अहिले नगरपालिकाले भवन निर्माणका लागि ११ करोड रुपैयाँमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिए।
(रासस)

विशेष