नेपालमै वन्यो कोरोना संक्रमितलाई वोक्ने ‘सुरक्षित बाकस’
महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले कोरोना भाइरसका संक्रमितलाई वोक्न सुरक्षित बाकस तयार गरेको छ ।
बाकसको प्रयोगले कोरोना संक्रमित विरामीलाई अस्पताल लैजान, एम्बुलेन्समा राख्न र अरुलाई संक्रमणको जोखिम कम गर्न मद्दत गर्ने जनाएको छ।
बाकसमा बिरामीलाई सास फेर्नका लागि पम्प जडान गरिएको छ। बाकसभित्र रहेको बिरामीलाई स्वास प्रश्वासमा कुनै समस्या नहोस भनेर ‘एचइपीए फिल्टर’ जडान भएको केन्द्रले जनाएको छ।
उक्त फिल्टरले नाकबाट निस्किने हावालाई फिल्टर गरेर बाहिर पठाउने र बाहिरबाट लिनुपर्ने अक्सिजन ग्याँस पनि सोही अनुसार लिने काम गर्नेछ। त्यस्तै बाकसभित्रको हावा बाहिर फाल्न ब्याट्रीबाट चल्ने पंखा पनि जडान गरिएको छ।
बाकसमा अन्य स्थानवाट हावा भित्र/वाहिर गर्ने ठाउँ नभएकाले जोखिम कम हुने पुनले जानकारी दिए ।
बाकस भित्र अक्सिजनको सिलिन्डर पनि जडान गर्न मिल्ने गरी तयार गरिएको छ । उक्त बाकस कोरोना भाइरसका संक्रमित बोक्ने एम्बुलेन्स, हेलिकोप्टरले प्रयोगमा ल्याइसकेको पनि उनले बताए। प्रयोगकर्ताले वाकसको तारिफ गरेको उनले सुनाए ।
उक्त बाकस अब कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरुलाई पनि उपलब्ध गराउने तयारी केन्द्रले गरेको छ । केन्द्रले यस अघि मास्क, पीपीई, स्वाब संकलन गर्ने सुइरो, स्वाब संकलन बुथ बनाइसकेको छ।