News स्वास्थ्य

भारतमा कोरोना खोप प्रयोगका लागि सिरमले माग्यो अनुमति

भारतमा कोरोना खोप प्रयोगका लागि सिरमले माग्यो अनुमति

भारतीय खोप सिरम इन्स्टिच्युट अफ् इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरुद्धको खोप प्रयोगका आपत्कालीन प्रयोगका लागि सरकारसँग अनुमति मागेको छ।

एसआईआईले भारतमा अक्सफोर्ड विश्वविद्यालय र ब्रिटिस औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना खोप विकास गरिरहेको छ । एसआईआई डोजको संख्याका हिसाबले विश्वकै ठूलो खोप निर्माता कम्पनी मानिएको छ। 

भारतीय औषधि महानियन्त्रक (डीसीजीआई) सँग यसअघि अमेरिकी कम्पनी फाइजरले जर्मन कम्पनी बायोएनटेकसँग संयुक्त रुपमा विकास गरेको कोरोना खोपको आपत्कालीन प्रयोगका लागि अनुमति मागिसकेको छ । फाइजरको कोरोना खोपको प्रयोगका लागि बेलायत र बहराइनले अनुमति दिइसकेका छन् ।

यसअघि कम्पनीले सन् २०२० अन्त्यसम्ममा कोरोना खोप उत्पादन हुने बताएको थियो । शुक्रबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केही हप्तामै भारतका कोरोना खोप उपलब्ध हुने बताएका थिए । 

एसआईआईका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अदार पुनावालाका अनुसार एसआईआईले पहिलो ब्याचअन्तर्गत एक सय करोड डोज उत्पादन गर्नेछ । उक्त परिमाणको खोप सन् २०२१ पहिलो र दोस्रो त्रैमासिकसम्म उत्पादन भइसक्ने उनले बताएका छन् ।

नेपालले पनि कोरोनाविरुद्धको खोप ल्याउन एसआईआईसँग छलफल गरिरहेको छ । कोभिसिल्ड २ देखि ८ डिग्री सेल्सियससम्मको तापक्रममा भण्डारण र ओसारपसार गर्न सकिने दाबी गरिएको छ । फाइजरको कोरोना खोपको भण्डारणका लागि माइनस ७० डिग्री सेल्सियससम्मको तापक्रम चाहिने बताइएको छ ।

विशेष