नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने ईयूको संकेतः मन्त्री भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियनले नेपालको हवाई उड्डयनलाई कालोसूचीबाट हटाउने संकेत गरेको वताएका छन् । यस विषयमा उनले खुसी व्यक्त गरेका छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले युरोपियन युनियनले जारी गरेको स्टेटमेन्ट स्वागतयोग्य भएको बताए।
नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा युरोपियन युनियनले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनले बताए ।
नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुनःसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसद्मा छलफल भइरहेको छ । संसद्बाट ऐन पारित भएपछि युरोपियन युनियनले उठाएका अधिकांश चासो सम्बोधन हुने पनि मन्त्री भट्टराईले स्पष्ट पारे ।
युरोपियन युनियनले नेपाली हवाई उड्डयनलाई कालो सूचीमा राखेका कारण नेपालका कुनै पनि विमान युरोपमा उडान गर्न पाउँदैनन् । ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्ड्यनलाई कालो सूचीमा राखेको थियो ।