राजपुर वम काण्डः पूर्वमन्त्री अफतावका भाई भारतको मोतिहारीवाट पक्राउ
रौतहटको राजपुर वम काण्डमा संलग्न मध्येका थप एक जनालाई प्रहरीले आईतवार राती भारतवाट पक्राउ गरेको छ ।
राजपुर नगरपालिकाका मोहम्मद महताब आलमलाई भारतको मोतीहारीबाट पक्राउ गरिएको हो । पहिलो संविधानसभा निर्वाचनताका राजपुर फरहदवामा भएको बम विस्फोटका घाइतेलाई इट्टाभट्टामा जिउँदै जलाइएको भनिएको प्रकरणमा उनलाई पक्राउ गरिएको जनाइएको छ ।
यसअघि सोही प्रकरणमा पूर्वमन्त्री एवं कांग्रेस नेता मोहम्मद आफताब आलमलाई प्रहरीले पक्राउ गरेको थियो । हाल उनी थुनामा छन् । भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएका मोहम्मद महताब आलम आफतावका भाइ हुन् । दाजु पक्राउ परेदेखि नै उनी फरार थिए । महताव नेपाली कांग्रेसका जिल्ला तहका नेता हुन् ।
परिवारिक श्रोतले महताव पक्राउ गरेको जानकारी दिएको छ । मोतीहारीस्थित आफन्तकहाँ रहेका महताबलाई रौतहट र भारतीय प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको जनाईएको छ । तर, प्रहरीले भने यस विषयमा कुन जानकारी दिएको छैन ।
२०६४ चैत २७ राति राजपुर नगरपालिका–४ स्थित आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट भएको थियो । प्रहरीले हालसम्म उक्त वमकाण्डाका पाँच जना पक्राउ गरेको छ । पूर्वमन्त्री आलम, उनका भाइ महताबलगायत ११ जना मध्ये मुख्य आरोपित आलम पुर्पक्षका लागि गत कात्तिक २९ देखि काठमाडौंको नक्खु कारागारमा छन् ।
घटनाको दुई महिनापछि २०६५ असार १ र ९ गते आलम र महताबसहित ४ जना पक्राउ परेका थिए । तर चारै जनाको म्याद थप गरेर एकै दिनमा अनुसन्धान सकी सरकारी वकिलको कार्यालय गौरमा मिसिल पेस गरी साँझपख प्रमाण नपुगेको भन्दै छाडिएको थियो ।
आरोपितहरू छुटेपछि २०७१ मंसिर २० गते पीडितका तर्फबाट छानबिन गरिपाउन भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निवेदन दिइएको थियो । न्याय नपाएको भन्दै पीडितले सर्वोच्च अदालतमा रिट हालेपछि पुनः छानबिन गर्न आदेश भएको थियो । त्यसपछि आलम पक्राउ परेका हुन ।