रमेशनाथ पाण्डेको किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ प्रति वावुरामको विष वमन !
रमेशनाथ पाण्डेद्वारा लिखित किताब ‘क्रान्ति र प्रतिक्रान्ति’ का विषयमा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई क्रुद्ध देखिएका छन् । भट्टराईले दुई दिनभित्र सार्वजनिक गरेका दुई वटा प्रतिक्रियामा किताव विरुद्ध विष वमन गरिएको छ ।
भट्टराईले मंगलवार विहानै ट्विटरमा लेखेका छन्–‘दरबारका पर्खालभित्रका झाडीमा हुर्केका हरिया साँपले क्रान्तिकारी लोकतान्त्रिक आन्दोलन र तिनका नेताहरूलाई डस्ने र नयाँ पुस्तालाई भ्रममा पारेर देशलाई पुनः अन्धकारतिर धकेल्ने जुन दुस्साहस गर्दैछन् तिनलाई नांगेझार पार्नु जरूरी छ। बिषकुम्भम् पयो मुखम बाट सावधान !’
यसअघि सोमवार पनि उनले ट्विटर मार्फत अर्को प्रतिक्रिया दिएका थिए । ‘इतिहास र जासूसी उपन्यास छासमीस गरेर लेखिएका किताबको व्यापार गर्ने प्रवृत्ति झांगिदै जानु गम्भीर विषय छ’ उनले लेखेका छन्–‘यौटा पाण्डे थरका खलपात्रले लोकतान्त्रिक गणतन्त्र पक्षधर सबै पार्टी र नेताविरूद्ध विष वमन गर्दै त्यसलाई बीपीका पुराना चिठीले छोपेर बेच्ने धृष्टता गरेछन! नयाँ पुस्ता भ्रमित नहोस !’
पाण्डेको पुस्तक ‘क्रान्ति र प्रतिक्रान्ति’ असोज तेस्रो साता बजारमा आएको हो। पुस्तकमा बीपी कोइरालाले सुन्दरीजल बन्दीगृहबाट लेखेका हस्तलिखित चिठ्ठी लगायत अन्य हस्तलिखित दस्तावेजहरु समेत समावेश छन्।
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका पाण्डेले पुस्तकमा २००७ सालको प्रजातन्त्रका लागि भएको राजनीतिक आन्दोलनदेखि वर्तमान समयसम्म आइपुग्दा नेपाली राजनीतिले भोगेको नियति र यसका भौगोलिक–सामरिक कारण र आउन सक्ने परिणाम समेतलाई उल्लेख गर्दै इतिहासको अनुभवका आधारमा नेपाली राजनीतिको भविष्यका बारेमा विस्तारमा चर्चा गरेका छन्।