हाइप्रोफाइलको बाबाजी बन्न खोज्दा डुबे ‘सिद्धवावा’
आफ्नी महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेर थुनामा रहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई एकाएक सफाई दिने सुनसरी जिल्ला अदालतको फैसला सोमबारदेखि सर्वत्र चर्चाको विषय बनेको छ । उच्च हुँदै सर्वोच्च अदालतले मंसिर १२ गते थुनामा राख्न सदर गरेको गिरीको मुद्दामा त्यसको १० दिनपछि एक सय असी डिग्री उल्टो हुनेगरी आएको फैसलाले सबैलाई सोच्न बाध्य बनाएको हो ।
उता,उच्च अदालत बिराटनगरले पनि मिसिल मगाउनु भन्दै २४ गतेको लागि पेशी तोकेको,जिल्ला सरकारी वकिलले यसअघि सर्वोच्च पठाइएको मिसिल नआइपुगेकोले सोमबारको पेशी स्थगित गरि पाऊँ भन्दै जिल्ला अदालतको इजलासमा लिखित निवेदन पेश गरेका थिए । तर,न्यायाधीश अर्जुनप्रसाद कोइरालाले गिरीलाई दुई पक्षको सुनुवाइबेगर एकाएक सफाई दिने फैसला गरिदिएपछि सबै आश्चर्य चकित बने ।
हुन तः जिल्ला अदालतमा चलिरहेको मुद्दामा उच्च अदालतले पेशी तोक्ने कुरो पनि कानुनी भाषामा आठौं आश्चर्य भएको बताइन्छ । जिल्ला अदालतबाट अन्तिम फैसला हुने कुनैपनि मुद्दामा उच्च वा सोभन्दा माथिका अदालतले फैसलाअगावै केही पनि भन्न र गर्न मिल्दैन भन्नेहरु पनि छन् । कृष्णबहादुर महरा प्रकरणमा पनि उच्चबाट झरेको मुद्दा जिल्लाले अन्तिम फैसला गरेको हो । कुनैपनि अदालतबाट हुने जस्तोसुकै फैसलामा पनि कानुनी अंग पुग्नैपर्छ । सुनसरी जिल्ला अदालतको उक्त फैसलाले आफूलाई अन्याय भएको जनाउँदै पीडित महिला र उनका श्रीमान मंगलबार प्रधानन्यायाधीश भेट्न सर्वोच्च पुगेका छन् । त्यहि फैसलाप्रतिको प्रक्रियाप्रति असन्तुष्टिलाई जनाउँदै महान्यायाधिवक्ता अग्नि खरेल पनि हिजै दिउँसो सर्वोच्च पुगेका थिए ।
कुनैपनि फैसलामा बदमाशी भएको छ भने सम्बन्धित न्यायाधीश अबिलम्ब कारबाहीको भागीदार हुनुपर्छ । जति राख्यो उति त्यो ठाउँमा असन्तुष्टि बढेर अप्रिय घटना पनि हुनसक्छ । जिल्लाको गलत फैसला उच्च अदालत वा सर्वोच्चले तत्काल सच्चाउन पनि सक्छ । उनीहरूका अनुसार, ‘सर्वोच्चले गरेको फैसला समेत अर्को बेञ्चले उल्टाउनसक्छ ।’
सुनसरी जिल्ला अदालतको उक्त फैसलाले राजधानीका सञ्चारमाध्यममा जति प्रमुखता पाएको छ त्यत्तिको उत्सुकता र चासो सुनसरीमा नदेखिएको स्रोतले बताएको छ । यस्तो हुनुमा मुद्दाको प्रकृतिभन्दा पनि बाबाजीको हाइफाईले काम गरेको हुनसक्छ । राष्ट्रपतिदेखि मुख्यमन्त्रीसम्मलाई आफ्नो आश्रममा पुर्याएर चर्चा बटुल्ने र आफूलाई हाइप्रोफाइलको बाबाजी बनाउन खोज्दा अहिले फेरि गिरी डुबेका छन् । अदालती स्रोतका अनुसार ‘यस्तै प्रकृतिका मुद्दामा नेपालभरि ५० वटाभन्दा बढी सफाईका फैसला भएको छ ।’
सरकारी वकिलले पेशी स्थगितको लागि लिखित अनुरोध गर्दागर्दै सोमबार न्यायाधीश कोइरालाले हतारिएर फैसला गर्नुलाई अचम्मको घटना मानिएको छ । सुनसरीको तथ्य बाहिर नआएसम्म सम्पूर्ण न्यायाधीशहरूलाई सर्वसाधारणले एउटै डालोमा हालेर आरोप लगाउने अवसर पाएका छन् । महान्यायाधिवक्ता र पीडित व्यक्तिले प्रधानन्यायाधीश गुहार्नुपर्ने अवस्थाले न्यायालयको शुध्दिकरण जरुरी भैसकेको देखाउँछ ।
कोइराला यसअघि पनि काठमाडौंको दरवारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको बलात्कारको घटनाका आरोपीलाई जेलबाट छुटाउन कस्सिएको चर्चा थियो मुद्दामा तानिएका थिए । काठमाडौं बाँडभन्ज्याङ्ग्नेरको ९२ रोपनी सार्वजनिक जग्गा व्यक्तिले आफनो बनाएको मुद्दामा समेत मुछिएकाले उनी त्यस्ता संवेदनशील मुद्दामा थप सतर्क र सजग बन्नैपर्थ्यो । तर,त्यसो गरेको भने देखिँदैन ।
शक्तिकेन्द्रहरूमा राम्रै पहुँच भएका उनी शंकर कोइरालाका सहोदर भाइ हुन् । शंकर पहिले उर्जासचिव र पछि खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष रहँदा मन्त्री थिए ।
यो सामग्री जन आस्थावाट साभार गरिएको हो।