News

निवासमै मृत भेटिए पूर्वसचिव अर्जुन कार्कीका कामदार, श्रीमती गम्भीर घाइते

निवासमै मृत भेटिए पूर्वसचिव अर्जुन कार्कीका कामदार, श्रीमती गम्भीर घाइते

काठमाडौंः नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीको घरमा काम गर्ने विजय चौधरी मृत भेटिएका छन् । उनी कार्कीकै सानेपास्थित घरमा मृत भेटिएका हुन् । 

प्रहरीका अनुसार कार्कीकी पत्नी मुना कार्कीलाई भने रगत लतपतिएको र गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार चौधरीको शव भेटिएकै स्थानमा कार्की घाइते भेटिएकी हुन् ।

घाइते कार्कीलाई सानेपास्थित स्टार अस्पताल लगिएको छ । राईका अनुसार चौधरीले झुन्डिएर आत्महत्या गरेको आशंका छ । शवमा कुनै चोटपटक नभेटिएको र लत्रिएको शवमा डोरी बाँधिएको फेला परेको छ ।

पूर्वसचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला उक्त घटना भएको हो । घरमा रहेकी अर्की कामदार किशोरी कार्की भने पूर्वसचिव कार्कीका छोरालाई स्कुल पुर्याउन गएकी थिइन् ।

ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले घटनाबारे महानगरीय अपराध महाशाखा र ललितपुर प्रहरीले अनुसन्धान थालेको बताइन् ।

अर्जुन कार्की विजय चौधरी

विशेष