विदेश

चीनबाट आउने विदेशीलाई मङ्गोलियामा प्रतिबन्ध

चीनबाट आउने विदेशीलाई मङ्गोलियामा प्रतिबन्ध

एजेन्सी – चीनबाट आफ्नो देशमा आउनेमाथि मङ्गोलिया सरकारले प्रतिबन्ध लगाएको छ । कुनै पनि चिनियाँ नागरिक होस् वा अन्य देशका नागरिक होस जो सुकैमाथि प्रतिबन्ध लगाइएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।

मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ । विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै फैलिँदै गएकाले उच्च सतर्कता अन्तर्गत उनीहरूलाई प्रतिबन्ध लगाइएको अधिकारीले जनाएका छन् । सो प्रतिबन्ध अहिलेलाई शनिबार अर्थात् फेब्रुअरी १ देखि मार्च २ सम्मका लागि निर्धारण गरिएको पनि समाचारमा जनाइएको छ । सरकारले जारी गरेको वक्तव्यका अनुसार आगामी फेब्रुअरी ६ सम्म चिनियाँ नागरिकलाई स्वदेश फर्किन भने सामान्य रुट नै प्रयोग गर्न पाइने भएको छ ।

त्यसपछि दुई जमिन उड्मा रहेको रेल नाका र राजधानी सहर उल्लान्बातारमा रहेको विमानस्थलबाट मात्रै उनीहरुलाई घर फर्किन दिइने भएको छ । मङ्गोलियामा अहिलेसम्म कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नभेटिएको अधिकारीले जनाएका छन् ।
मङ्गोलियाले चीनसँगको नाकाबाट कारमा आफ्नो देशमा भित्रिन नदिने व्यवस्था यसअघि नै गरिसकेको थियो । मङ्गोलियामा अहिले विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने सार्वजनिक कार्यक्रमहरू गर्न नपाइने भइसकेको छ ।

सार्वजनिक कार्यक्रम र विद्यालयमा हुने जमघटबाट भाइरस एकबाट अर्कोमा सर्न सक्ने खतरा हुने भएकाले बन्द गरिएको मङ्गोलियाका अधिकारीको भनाइ छ । चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार राति अबेरसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र नौ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।

विशेष