News

नेकपा केन्द्रीय कमिटी बैठकः ११ समूहको प्रतिवेदन प्रस्तुत, ओली अनुपस्थित

नेकपा केन्द्रीय कमिटी बैठकः ११ समूहको प्रतिवेदन प्रस्तुत, ओली अनुपस्थित

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा आज ११ वटा समूहको प्रतिवेदन प्रस्तुत हुँदैछ ।

समुहगत छलफल सकेर विभिन्न १५ वटा समूहले तयार पारेको प्रतिवेदन शनिबार पनि शीर्ष नेतृत्वसामु प्रस्तुत हुँदैछ । यसअघि शुक्रबारको बैठकमा विभिन्न ४ वटा समूहले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेदन पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिएका छन ।

११ बजेदेखि राष्ट्रिय सभा गृहमा सुरु हुने बैठकमा आज पनि विभिन्न सूहका नेताहरुले समूह सदस्य दिएको सुझावका आधारमा तयार भएको प्रतिवेदन प्रस्तुत गर्ने केन्द्रीय सदस्य विशाल भट्टराईले जानकारी दिए ।
बैठकले समुहगत रुपमा प्रस्तुत गरिएको सुझावलाई एकीकृत गरी एउटै प्रतिवेदन बनाएर पास गरिनेछ ।

बैठकले नेकपाको प्रस्तावित महाधिवेशनको मितिकाबारेमा आवश्यक निर्णय गर्नेछ भने पार्टी सुदृढीकरणकका लागि देशव्यापी रुपमा संचालन हुने ५ महिने अभियानको निर्क्यौल गर्नेछ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका छैनन्। बैठकको पहिलो दिन उपस्थित भएका अध्यक्ष ओली त्यसपछि भने उपस्थित नभएका हुन्।

समूह नेताहरुले प्रतिवेदन पेस गरिसकेपछि आइतबार अध्यक्ष प्रचण्डले उठेका सवालका विषयमा जवाफ दिने कार्यक्रम छ। बैठकमा मुख्य गरेर एमसीसी, लिपुलेक, पार्टीभित्रको गुटबन्दी आदिका विषयमा छलफल भएको टोली नेताहरुले बताइरहेका छन्।

विशेष