भारतमा बजेट भाषण– नेपाललाई दिइने अनुदानमा कटौती, भुटानको बढोत्तरी
भारत– भारतले चालू आर्थिक वर्षका लागि नेपाललाई दिने अनुदानमा कटौती गरेको छ भने भुटानको बजेटमा बढोत्तरी गरेको छ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणद्वारा शनिबार संसदमा पेश गरिएको बजेटमा नेपाललाई दिइने अनुदानमा गत वर्षभन्दा ४ अर्ब रुपैयाँ कटौती गरेको छ। यस वर्षको लागि भारतले ८ अर्ब भारु रुपैयाँमा मात्र छुट्याएको छ। यसअघि आफैले ल्याएको बजेटमा नेपाललाई दिइने सहायता बढाएकी सीतामरणले अनुदानमा कटौती गरेकी छिन्।
गत वर्ष २०१९/२० को मध्यावधि बजेटमा नेपालका लागि १२ अर्ब भारुका सहयोग स्वीकृत गरिएको थियो । त्यसअघि गत वर्षको पहिलो पूर्ण बजेटमा १० अर्ब ५० करोड भारु सहयोग दिने प्रस्तावित थियो ।
नेपाललाई दिइने सहयोग घटाइए पनि भुटानलाई दिइने सहयोगमा भने भारतले वृद्धि गरेको छ । भुटानलाई २८ अर्ब ८४ करोड ६५ लाख भारु सहयोग प्रदान गरिने बजेटमा प्रस्ताव गरिएको छ । यो गत वर्षको भन्दा करिब ८ प्रतिशत बढी हो ।
भारतीय अर्थमन्त्री निर्मला सीतारमणले भारतीय संसदमा आव २०२०/२१ का लागि २६९ खर्ब ८५ अर्ब भारुको बजेट पेश गरेकी छिन् ।