मुख्यमन्त्री कार्यालयका चालक इन्सपेक्टर हुँ भन्दै व्यापारीबाट उठाए पैसा, तीन जना पक्राउ
कैलाली – प्रहरी निरीक्षक हुँ भन्दै ठगी गर्ने सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका चालकले ब्यापारीबाट पैसा उठाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सवारी चालकका रुपमा रहेका किसन सिजापतिसहित तीन जनालाई नक्कली प्रहरी निरीक्षक बनेर धनगढीमै ठगी गरेको आरोपमा प्रहरीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।
माघ २ गते धनगढी उपमहानगरपालिका– ३ बडहरा घर भइ मिलन चोकस्थित रिक्सा र साइकल मर्मत पसलबाट काम गर्ने एक व्यक्तिबाट रकम असुली गरेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर पुनर्वास नगरपालिका–५ घर भइ धनगढी उपमहानगरपालिका–१ बस्ने मुख्यमन्त्री मन्त्रिपरिषदको कार्यालयका सवारी चालक ३३ वर्षीय किसन सिजापतिसहित तीनजना पक्राउ परेका हुन् ।
किसनसँगै बझाङको खप्तड छान्ना गाउँपालिका– १ घर भइ धनगढी उपमहानगरपालिका–७ मनहेरा बस्ने ३२ वर्षीय सनम भण्डारी र धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने वर्ष ३५ का गौरव हमाललाई पनि प्रहरीले पक्राउ गरेको छ ।
भारतीय नम्बर प्लेटको मोटरसाइकल चोरीको हो र आफूहरू जिल्ला प्रहरी कार्यालयबाट आएका हौं भन्दै दुई हजार पाँच सय रकम असुली गरेको गुनासो आएपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।