News

प्राधिकरणले गर्यो विद्युतीय सवारीसाधनको चार्ज गर्दा लाग्ने महसुल निर्धारण

प्राधिकरणले गर्यो विद्युतीय सवारीसाधनको चार्ज गर्दा लाग्ने महसुल निर्धारण

काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारीसाधनको चार्ज गर्दा लाग्ने महसुल पहिलोपटक निर्धारण गरेको छ । प्राधिकरणले चार्जिङ स्टेशनबाट सवारीसाधन चार्ज गर्दा सार्वजनिक र निजी विद्युतीय सवारीसाधनका लागि छुट्टाछुट्टै महसुल निर्धारण गरेको छ ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तारै बढ्दै गएकाले प्राधिकरण आफ्नै मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गर्दै छ । प्राधिकरणले आफै पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि यो सञ्चालनमा ल्याइसकेकाले यसका लागि विद्युत् महसुल निर्धारण गरिएको हो ।

हाल विद्युतीय सवारी विक्री गर्न केही कम्पनी र निजीक्षेत्रको सुन्दर यातायातले चार्जिङ स्टेशन सञ्चालनमा ल्याएका छन् । तर यस्ता चार्जिङ स्टेशनमा सवारीसाधन चार्ज गर्दा लाग्ने महसुल कसरी उठाउने भन्ने विषयमा नीतिगत प्रावधान भने थिएन ।

अहिले निजीक्षेत्रको सुन्दर यातायात प्रालिले निजी प्रायोजनका लागि काठमाडौंमा दुई चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ । उक्त कम्पनीले प्रतियुनिट १० रुपैयाँ ५० पैसाको दरले प्राधिकरणलाई शुल्क बुझाउँदै आएको छ ।

प्रस्तावित महसुलअनुसार साँझ ५ बजेदेखि राती ११ बजेभित्र गाडी चार्ज गर्दा प्रतियुनिट ८ रुपैयाँ ४० पैसादेखि ११ रुपैयाँ ७० पैसा शुल्क लाग्नेछ । यस्तै राती ११ बजेदेखि बिहान ५ बजेसम्मका लागि प्रतियुनिट ४ रुपैयाँ ४५ पैसादेखि १० रुपैयाँ ३० पैसा सम्म शुल्क लाग्नेछ ।

यसैगरी बिहान ५ बजेदेखि साँझ ५ बजेभित्र गाडी चार्ज गर्दा प्रतियुनिट ६ रुपैयाँ ६० पैसादेखि १० रुपैयाँ ३० पैसासम्म लाग्नेछ । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

विद्युतीय सवारीसाधन चार्ज महशुल निर्धारण

विशेष