News

वाइडबडी शनिबार पौने ३ बजे चीनकाे वुहान उड्ने

वाइडबडी शनिबार पौने ३ बजे चीनकाे वुहान उड्ने

काठमाडौंः कोरोना प्रभावित चीनको हुबेई प्रान्तस्थित वुहान शहरमा रहेका १ सय ८० नेपाली विद्यार्थी लगायतलाई फिर्ता ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी विमान शनिबार दिउँसो पौने ३ बजे काठमाडौंबाट त्यसतर्फ जाने भएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्ले निगमको जहाज पठाउने निर्णय गरेसँगै निगमले वुहानका लागि यो समय तालिका सार्वजनिक गरेको हो। ‘शनिबार दिउँसो पौने ३ बजे हाम्रो जहाज काठमाडौंबाट वुहान जाँदैछ,’निगमको अपरेशन विभाग प्रमुख दिपुराज जुहार्चनले भने,‘उताबाट फर्किदा राति सवा २ बजे जहाज काठमाडौं अवतरण हुनेछ।’ उक्त विमानमा नेपाल वायुसेवा निगमका तीन जना पाइलट, ६ जना क्याबिन क्रू, १ जना इन्जिनियर, १ जना प्राविधिक, १ जना फ्लाइट डिस्प्याचर,१ जना लोड मास्टर र ४ जना नेपाली सेनाका चिकित्सक रहने छन्।

नेपाली सेना र स्वास्थ्य मन्त्रालयका चिकित्सकले बुधबार निगमको केन्द्रीय कार्यालयमा चीन जाने टोलीसहित निगमको विमानस्थलमा रहेका कर्मचारीहरुलाई तालिम दिएका थिए। निर्देशक जुहार्चनका अनुसार, चिकित्सकहरुले परसनल प्रोटेक्टिभ इक्युभमेन्ट (पीपीई) प्रयोगबारे सिकाएका थिए। ‘के गर्ने के नगर्ने तथा पीपीई प्रयोगपछि उक्त उपकरणलाई कसरी डिस्कार्ड (स्वास्थ्यलाई असर नपर्नेगरी निस्तेज गर्ने) बारे सिकाइयो,’ उनले भने। विमानस्थलमा कार्यरत कर्मचारीलाई बिहीबार तालिम दिँइदै छ।

उक्त उडानपछि जहाज र चालकदल लगायतका निगमका कर्मचारीलाई कति घन्टा क्वारेन्टाइनमा राख्‍नेबारे सरकारले कुनै निर्णय गरेको छैन। यसबारे विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पालना गर्नुपर्ने हुन्छ। ‘बिहीबारको मन्त्रिपरिषद्ले यसबारेको मापदण्ड पारित गरेपछि मात्रै जहाज र कर्मचारीहरुको क्वारेन्टाइनबारे एकिन भन्‍न मिल्ने छ,’ क्याप्टेन जुहार्चनले भने। स्वस्थ्य मन्त्रालयले बनाएको मापदण्ड प्रधानमन्त्री कार्यालयमा पेश भइसकेको बताइएको छ।

निगमले सरकारले दिएको निर्देशन अनुसार, निगमको जहाज र कर्मचारीलाई वुहान पठाउन लागेको जनाएको छ। ‘यो देशका लागि गर्नुपर्ने कर्तव्य हो, कसैलाई दबाब दिएर वा अनिवार्य पठाउन लागिएको होइन,’ निर्देशक जुहार्चनले भने, ‘निकट भविष्यमा सरकारले निगम र वुहान जाने पाइलट, क्याबिन क्रू, प्राविधिक लगायतका कर्मचारीको कामको मूल्यांकन गर्ने विश्वास लिएका छौं।’

यसैबीच वुहान जाने वाइडबडी जहाजको ग्राउन्ड ह्याण्डलिंङ गर्न परराष्ट्र मन्त्रालयले त्यहाँको ग्राउन्ड एक्सप्रेस लिमिटेडलाई तोकेको छ। उक्त कम्पनीले निगमको उक्त उडानमा नेपाल आउने विद्यार्थी लगायतको ब्यागेज जहाजमा राख्‍ने, जहाजलाई अन्य प्राविधिक लगायतका काममा मद्दत गर्ने छ। यस बापत निगमले उक्त कम्पनीलाई भुक्तानी दिनुपर्ने छ।

निगमले यसपटक गर्न लागेको यो चार्टर उडान हो। यसको भाडा निगमले प्रति घन्टा कम्तीमा १८ हजार हाराहारी डलरका दरमा लिनेछ। जहाज थप ४८ घन्टा कम्तीमा ग्राउन्डेड गरिनुपर्ने भएकाले यो दरमा निगमले थप अतिरिक्त शुल्क पनि लगाउने सक्ने एक अर्का निर्देशकले बताए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

नेपाल वायुसेवा निगम वाइडबडी विमान कोरोना वुहान शहर

विशेष