News

कार्की हत्या र चौधरी आत्महत्या अनुसन्धानः बयानमा महिला कामदारले भनिन्, ‘रिसाहा थिए विजय’

कार्की हत्या र चौधरी आत्महत्या अनुसन्धानः बयानमा महिला कामदारले भनिन्, ‘रिसाहा थिए विजय’

काठमाडौंः पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको हत्या अनुसन्धानका क्रममा प्रहरीले तीनजनासँग बयान लिएको छ । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीनिवासकी महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान लिएको हो ।

ड्राइभर र प्लम्बरले हत्यामा संलग्न विजय चौधरीको आनिबानीबारे खासै जानकार नरहेको बयान दिएका छन् । पार्टटाइम काम गर्ने महिला कामदारले भने विजय रिसाहा स्वभावको रहेको बयान दिएकी छिन् । 

परिसरका एसपी दुर्गा सिंहले घटनाको अनुसन्धानका क्रममा तीनजनासँग बयान लिएको बताइन् । ‘कार्कीनिवासमा काम गर्ने महिला कामदार, ड्राइभर र प्लम्बरसँग बयान भएको छ,’ सिंहले भनिन्, ‘महिला कामदारले विजय रिसाहा स्वभावको रहेको बताएकी छिन् । आफूलाई मृतक कार्कीले पनि विजय रिसाहा स्वभावको भएकाले विवाद नगर्न भन्ने गरेको बयान उनको छ ।’ 

उनीहरूले हत्या भएकी कार्की भने असल भएको बयान दिएका छन् । ‘उनीहरू सबैले कार्कीको आनिबानी राम्रो भएको बयान दिएका छन्,’ एसपी सिंहले भनिन्, ‘कामदारलाई माया गर्ने स्वभाव थियो भनेका छन् ।’ तीनजनाको बयान सकिए पनि अन्य व्यक्तिसँग बयान लिने क्रम जारी रहेको उनले बताइन् ।

दुवैको मोबाइल फरेन्सिक ल्याबमा

घटनाको कारण पहिल्याउन प्रहरीले हत्या भएकी कार्की र हत्यापछि आत्महत्या गरेका चौधरी दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाएको छ । कार्की परिवारको फोन डिटेल्सको पनि सूक्ष्म विश्लेषण गरिरहेको छ । ‘घटना संवेदनशील भएकाले विविध कोणबाट अध्ययन हुनु जरुरी छ । त्यसैले, घटनाअघि र घटनापछि घटनास्थल क्षेत्रमा एक्टिभ भएका फोन र एप्सहरूको अध्ययन भइरहेको छ । कल डिटेल्सको पनि अध्ययन भइरहेको छ,’ परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले भने, ‘डिलेट गरिएका कल, म्यासेज, भ्वाइस रेकर्डलगायत फरेन्सिक ल्याबमा रिकभर हुन्छ । अहिले नै निष्कर्ष निकाल्न सक्ने अवस्था छैन ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

 

विजय चौधरी मुना कार्की दुर्गा सिंह

विशेष