News

यसरी छोटिँदैछ काठमाडौंसँग बाँकी नेपालको दूरी

यसरी छोटिँदैछ काठमाडौंसँग बाँकी नेपालको दूरी

काठमाडौंः बाग्लुङ र रुकुम पूर्वको सिमाना रहेको चुलीमा हिउँले पुष्पलाल (मध्यपहाडी) लोकमार्ग केही दिनदेखि अवरुद्ध थियो । हिउँ हटाउन केही पहल नभएका बेला तन्नेरीहरुको टोली मोटरसाइकल लिएर त्यहाँ पुग्यो र लोकमार्गको स्थानीय आयोजना कार्यालयमार्फत बाटो खुलाउन अनुरोध गर्यो । त्यो सम्भव भएन ।

एकपल्ट स्काभेट हिँडाइदिए पनि सजिलो हुने उनीहरुको आशय थियो । त्यो पनि सम्भव नभएपछि युवाले हिउँले पुरिएको करिब १० किलोमिटर सडकमा मोटरसाइकल धकेलेर लुकुम भन्ने ठाउँनजिक पुर्याए । यति मेहनत नगरेको भए पहाडैपहाड पूर्व–पश्चिम गर्ने लक्ष्य अधुरो हुन्थ्यो । मध्यपहाडी लोकमार्गको सुरुवाती विन्दु पाँचथरबाट मोटरसाइकलमा हिँडेका ती युवा सत्रौं दिनमा सुदूरपश्चिम बैतडीको झुलाघाट पुगे।

मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ। कतै कालोपत्रे, कतै ग्राभेल त कतै कच्ची सडकको प्रयोग गरेर पहाडैपहाड पूर्व–पश्चिम यात्रा सम्भव हुँदै गएको छ ।

यो लोकमार्गले सहरलाई भन्दा पनि गाउँलाई बढी जोडेको छ। दुर्गम गाउँहरु सडक मार्गमा जोडिएका छन् । बाँकी काम चाँडै सम्पन्न हुने हो भने मध्यपहाडी क्षेत्रका बासिन्दाले थप सुविधा पाउने देखिन्छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको लोकमार्गको सम्पूर्ण काम आर्थिक वर्ष २०७९–८० सम्ममा सम्पन्न गर्ने सरकारी लक्ष्य छ । लक्ष्य हासिल गर्न काम तीव्र पार्न आवश्यक छ । कालोपत्रेको ठेक्का नलागेको क्षेत्रमा ठेक्का लगाउने, भएका ठेक्का समयमा सम्पन्न गर्नुका साथै पुल निर्माण, विवाद समाधान गर्नु आवश्यक देखिन्छ ।

मध्यपहाडी लोकमार्गको निर्माणसँगै पहाडैपहाड पूर्व–पश्चिम यात्रा गर्न सम्भव बन्दैछ भने विभिन्न जिल्लाबाट राजधानी काठमाडौंसम्मको सडक दूरी पनि छोटिएको छ ।

पूर्वमा पाँचथरको चिवाभन्ज्याङदेखि पश्चिमको बैतडीको झुलाघाट जोड्नेगरी १ हजार ८ सय ७९ किलोमिटर लामो मध्यपहाडी लोकमार्ग रहेको छ । ‘अन्य आयोजनाअन्तर्गत निर्माण भएको ४ सय ६२ किलोमिटर सडक र पुलहरु चौडा पार्नेबाहेकका काम २०७९–८० मा सक्ने लक्ष्य छ’, मध्यपहाडी लोकमार्ग आयोजना निर्देशनालय काठमाडौंका आयोजना निर्देशक दीपक केसीले भने, ‘२६ जिल्लाका २ सय १५ बस्ती जोड्दै करिब १ करोड जनतालाई प्रत्यक्ष लाभ पुर्याउने गरी राजमार्गको काम अघि बढाइएको छ । यो लोकमार्गले मध्यपहाडी क्षेत्रका बासिन्दालाई सहज सडक सुविधा, आर्थिक, सामाजिक स्तरमा परिवर्तन ल्याउने र बसाइँ सराइ रोक्ने अपेक्षा राखिएको छ ।’

सडक सुविधा पुगेसँगै ग्रामीण बजारहरुको स्थापना, सडक सञ्जालको बढोत्तरी, विभिन्न घरेलु उद्यमको विकास भएको देख्न सकिन्छ । पाँचथर, तेह्रथुम, भोजपुर, खोटाङ, रामेछाप, सिन्धुली, बाग्लुङ, रुकुम, जाजरकोट, दैलेख, अछामजस्ता जिल्लामा बढी सुविधा भएको देखिन्छ । यो समाचार आजको नागरिक दैनिकबाट लिइएको हो ।

मध्यपहाडी लोकमार्ग काठमाडौं

विशेष