News

भारतीय सहयोगमा क्याम्पस भवन

भारतीय सहयोगमा क्याम्पस भवन

भारत सरकारको सहयोगमा गुल्मीको चन्द्रकोट गाउँपालिकामा चन्द्रकोट क्याम्पस भवन निर्माण भएको छ । भारत सरकारको ४ करोड ९९ लाख नगद अनुदानमा सो भवन बनेको हो ।  तीन तल्ले नयाँ संरचनामा १२ वटा कक्षा कोठा, कार्यालय भवनका साथै प्रत्येक तलामा छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ । गुल्मीे जिल्ला समन्वय समितिले सो परियोजनाको कार्यान्वयन गरेको हो ।

नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा भारत सरकारको छ । भारतीय दूतावास काठमाडौंले निकालेको विज्ञप्तिमा भनिएको छ– ‘शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गर्दछ ।’ 

निम्न आर्थिक अवस्थाका कारण पाल्पा, बुटवल, काठमाडौं आदि शहरहरुमा उच्च शिक्षा हासिल गर्न असमर्थ विद्यार्थीहरुलाई उच्च शिक्षा अध्यापन गराउने उद्देश्यका साथ स्थानीय जनताको पहलमा सन् २००८ मा चन्द्रकोट क्याम्पसको स्थापना भएको हो ।  

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस सामुदायिक क्याम्पसले स्नातक तहमा मानविकी, व्यवस्थापन तथा सामाजिक विज्ञान विषयको अध्यापन गराइरहेको छ । क्याम्पसमा ९० प्रतिशत बढी छात्राहरु अध्ययनरत छन् । क्याम्पसको अभावमा उच्च शिक्षाबाट बञ्चित हुनुपरेको सो क्षेत्रका आर्थिक तथा सामाजिक रुपले विपन्न, पिछडिएका विद्यार्थीहरु विशेष गरी छात्राहरुका लागि यो विद्यालयको स्थापनाले उनीहरुको उच्च शिक्षा हासिल गर्ने इच्छालाई साकार बनाएकोे छ ।   

नव निर्मित क्याम्पस भवनको उद्घाटन समारोहमा भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका काउन्सिलर डा. प्रफुल्लचन्द्र शर्माले दूतावासको प्रतिनिधित्व गर्नुभयो । चन्द्रकोट गाउँपालिकाका अध्यक्ष द्रोणबहादुर खत्री, जिल्ला समन्वय अधिकारी भक्तिराम मरासिनी लगायत स्थानीय राजनीतिक तथा सामुदायिक अग्रजहरुकोे उक्त समारोहमा उपस्थिति थियो ।

भारतीय  क्याम्पस भवन

विशेष