छुट्टाछुट्टै सडक दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौंः देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ७ जनाले ज्यान गुमाएका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बंकमा बुधबार साँझ रोकिएको बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार कैलाली गोदावरी नगरपालिका–१० बस्ने ३१ वर्षीय मोहन चौधरी सडकमा लडेका थिए । लडेका चौधरीलाई विपरीत दिशाबाट आएको मिनीट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएका उनको पदमा अस्पताल अत्तरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कैलाली गोदावरी नगरपालिका–१० बस्ने २८ वर्षीय निराजन चौधरीको उपचार भइरहेको छ ।
सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलास्थित सडकमा बुधबार नेपाली सेनाको सबुज गण सिमखर्क ब्यारेकबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ग १२३ नम्बरको ट्रक सडकबाट खसेर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रकमा सवार बारा डुमरवाना–८ घर भएका नेपाली सेनाका जमदार ३५ वर्षीय यादव भरेल रहेका छन् । उनको घटनास्थमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका नेपाली सेनामा कार्यरत अन्य ६ जनालाई सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसिपुर पठाएकोमा थप उपचारका लागि सैनिक अस्पताल छाउनी रिफर गरिएको छ ।
धादिङको गजुरी गाउँपालिका–२ चाम्बासस्थित सडकमा बुधबार साँझ लु.२ ख १३५ नम्बरको बस र बा.९८ प ७०५८ नम्बरको स्कुटर एकापसमा ठोक्किदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन भरतपुर महानगरपालिका–१३ गितानगर बस्ने २० वर्षीया महिमा सिलवाल र २२ वर्षीया शर्मिला सिलवालको रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुमध्ये महिमाको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा र शर्मिलाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी धादिङ बेनिघाट रोराङ गाउँपालिका–२ अर्चलेमा ना.२ ख ५०५७ नम्बरको बसको ठक्करबाट एकजना बालकको मृत्यु भएको छ । अर्चलेकै दिनेश गुरुङका छोरा ७ वर्षीय प्रज्वल गुरुङको मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ गोरियाहीमा बुधबार साँझ बा।१ प ८००० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार ३५ वर्षीया मुनिदेबी यादवको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–५ जिरो किलोमिटरमा बिहीबार बिहान ग.१ ज ४०९७ नम्बरको ट्याक्सी र ग.१० प २५५५ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार दार्चुला घर भई हाल पोखरा बस्ने ३५ वर्षीय पदम सिंह दहाडको मेट्रोसिटी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल २४ वर्षीय आशिष भुजेलको उपचार भइरहेको छ । ट्याक्सी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडक दुर्घटना