रेशम चौधरीलाई रिहाई गर्न माग गर्दै सडक अवरुद्ध, चक्काजामको तयारी
कैलाली - थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा सडक अवरुद्ध गरेको छ । मोर्चाले धनगढीको क्याम्पस रोडमा रेशमलाल चौधरीसहित ११ जना कैदीबन्दीलाई रिहाइ गर्न माग राख्दै आधा घण्टा सडक अवरुद्ध गरेको हो। मोर्चाका अगुवा माधव थारुका अनुसार शनिबार सोही ठाउँमा तीन घण्टा चक्काजाम गरिने छ। उनले माग पूरा नभएसम्म आन्दोलन निरन्तर जारी रहने समेत उनले बताए।
टीकापुर घटना राजनीतिक भएकाले यसको समाधान राजनीतिक रुपमा नै हुनु पर्ने मोर्चाको माग छ । माग पूरा गराउनका लागि मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारुले धनगढीको क्याम्पस रोडमा आमरण अनशन पनि थालेका छन् । थारु अनशन बसेको ठाउँमा नै चक्काजाम गरिएको थियो ।
मोर्चाले टीकापुर मुद्दा खारेज गर्नु पर्ने, टीकापुर घटनाको छानबिनका लागि गिरीशचन्द्र लालको नेतृत्वमा गठित छानबिन आयोग र देविराम शर्माको नेतृत्वमा गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नु पर्ने माग गरेको छ । उनीहरुले संविधान संशोधन गर्नु पर्ने समेत माग गरेका छन् ।
संविधानको धारा १८, ३८, ४२, ५६, २७४ र अनुसूची ४ प्रति मोर्चाको असहमति जनाउँदै आएको छ । यस्तै, भदौ ७ गतेको टीकापुर घटनाको प्रतिशोधमा भदौ ८ गते थारु समुदायको घर, व्यापारिक प्रतिष्ठानलगायतमा आगजानी, तोडफोड र लुटपाट गर्ने दोषीलाई कानुनी कारबाही गर्नु पर्ने माग अगाडि सारेको छ ।