News

रहस्यमै सानेपा घटना, भित्री कारण थाहा पाउन यसकारण अप्ठेरो

रहस्यमै सानेपा घटना, भित्री कारण थाहा पाउन यसकारण अप्ठेरो

काठमाडौंः सोमबार, बिहान १० बजेर ८ मिनेट । सानेपास्थित घरमा कसैले पछाडिबाट मुना कार्कीको घाँटी बेर्छ । घाँटी कस्सिन्छ । उनलाई लडाइन्छ, अनि घाँटी थिचिन्छ । लगत्तै टाउकामा प्लास्टिकको पिर्काले प्रहार हुन्छ ।

पूर्वसचिव अर्जुन कार्कीले ललितपुर महानगरपालिका २ सानेपास्थित घरको सीसी क्यामेरामा यस्तै दृश्य कैद भएको भिडियो प्राप्त भएको प्रहरीको दाबी छ । ७/८ महिनाअघि घरमा चोरी भएपछि कार्कीले चारवटा सीसी क्यामेरा इन्स्टल गरेका थिए । त्यसैमध्ये एउटा खुला झ्यालबाट कैद भएको फुटेजमा कार्कीकी पत्नी मुनाको हत्या भएको देखिएको छ ।

दृश्य हेर्दा मुनालाई आक्रमण गर्ने व्यक्ति घरमा काम गर्ने विजय चौधरी देखिएको प्रहरीले जनाएको छ । कार्की ५ कक्षामा पढ्ने १२ वर्षीय छोरालाई सोमबार बिहानै ड्राइभरले स्कुल छाडेर आएपछि आफैं गाडी हाँकेर रुद्री पूजाका लागि पुशपति पुगेका थिए । उनकी ४९ वर्षीया श्रीमती मुना र कामदार विजय चौधरी भने घरमै थिए । पूजा सकेर घर फर्की गेट खोल्न आग्रह गर्दा कसैले नखोलेपछि आफैं भित्र पसेका थिए ।

भित्र पस्नेबित्तिकै श्रीमती किचनमा रक्ताम्य भएर ढलिरहेको अवस्थामा अचेत थिइन् । दाङ देउखुरीका २२ वर्षीय विजय लिभिङ रुममा हरियो नाइलनको डोरीमा कस्सिएर मृत अवस्थामा थिए । प्रहरीका अनुसार त्यसपछि छिमेकीमध्ये कसैले प्रहरी वृत्त सानेपामा फोन गरेर घटनाबारे जानकारी गराएका थिए ।

प्रहरीले तत्काल त्यहाँ पुगेर अचेत मुनालाई एम्बुलेन्स बोलाएर स्टार हस्पिटल पठाएको थियो। ‘हामीले एम्बुलेन्स पठायौं । तत्काल बिरामीलाई गर्नुपर्ने सबै क्लिनिकल प्रक्रिया सुरु गर्यौं,’ स्टार हस्पिटलका सीईओ डा. सन्देश जीसी भन्छन्, ‘तर उहाँलाई यहाँ ल्याइपुर्‍याउँदा नै मृत्यु भइसकेको थियो ।’ अहिलेसम्मको अनुसन्धानबाट घरमै कुनै विषयमा वादविवाद भएपछि विजयले नै मुनालाई आक्रमण गरेको हुन सक्ने प्रहरीले बताएको छ । ‘विजयले नै मारेको देखिन्छ,’ ललितपुर प्रहरीका प्रवक्ता सन्तोष तामाङले बुधबार बिहान भने, ‘पहिले डोरीले पछाडिबाट घाँटी कसेको र पछि प्लास्टिकको पिर्काले प्रहार गरेको भिडियो फुटेजमा देखिन्छ ।’ उनका अनुसार मुनाको मृत्यु ट्रिबुलेसन (निस्सासिएर) भएको देखिएको छ ।

‘विजयले हत्यापछि आत्महत्या गरेको प्रहरीले जनाएको छ । ‘मर्डर (हत्या) पछि आफैं झुन्डेर मरेकामा पनि विवाद छैन तर मार्ने र मर्ने दुवै नभएकाले भित्री कारण पत्ता लगाउने प्रयास हामीले गरिरहको छौं,’ तामाङले थपे, ‘तर भिडयो हेर्दा रिस नै थियो भन्ने देखिन्छ ।’ विजयको मृत्युको कारण पनि ‘ह्यागिङ’ नै देखिएको उनले बताए । ‘मर्ने र मार्ने’ दुवै नरहेका कारण घटनाको आन्तरिक ‘मोटिभ’बारे प्रहरीले अझै अनुसन्धान जारी राखेको छ । घटनाको कारण अहिलेसम्म रहस्यकै गर्भमा छ । यो समाचार आजको साप्ताहिकबाट लिइएको हो ।

मुना कार्की अर्जुन कार्की विजय चौधरी सानेपा घटना

विशेष