News

अब कर्णाली नदीमा पनि पानीजहाज

अब कर्णाली नदीमा पनि पानीजहाज

कैलालीः सुदूरपश्चिम र कर्णाली प्रदेश भएर बग्ने कर्णाली नदीमा पानीजहाज सञ्चालनका लागि पहल थालिएको छ । यो नदी नेपालको सबैभन्दा लामो नदी हो । यो नदीमा हाल र्‍याफ्टिङ सञ्चालन छ । अब  र्‍याफ्टिङसँगै यो नदीलाई जल मार्गका रूपमा विकास गर्नका लागि पानीजहाज सञ्चालन गर्नका लागिएको हो ।

भारतको करुणाघाटदेखि सेती–कर्णालीको दोभानसम्म झन्डै ७० किलोमिटरसम्म पानीजहाज सञ्चालन गरेर यसलाई जल मार्गका रूपमा अघि बढाइने जनाइएको छ ।

यसका लागि जिल्ला समन्वय समिति कैलालीका प्रमुख सूर्यबहादुर थापाको संयोजकत्वमा टीकापुर नगरपालिका, लम्की नगरपालिका तथा मोहन्याल गाउँपालिका र जानकी गाउँपालिका प्रमुख सदस्य रहने गरी कर्णालीमा पानीजहाज सञ्चालन समिति समेत गठन गरिएको छ ।

सो समितिले पानीजहाजका लागि नदीको अध्ययन अवलोकनसँगै सप्तकोसी र नारायणी नदीको पनि अवलोकन गरेको छ । जिल्ला समन्वय समिति कैलालीका प्रमुख थापाले पानीजहाजबारे अध्ययन अवलोकन गरिसकेको र एक साताभित्रै विज्ञसहितको टोलीले त्यस क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने बताए । उनका अनुसार टोलीले अध्ययन गरेपछि पानीजहाज ल्याएर परीक्षण गरिनेछ ।

उनले सप्तकोसी र नारायणीजस्तै कर्णालीमा पनि जल यातायातको सम्भावना रहेको बताए । ‘सप्तकोसीको भन्दा ठूलो छहरा कर्णालीमा नभएकाले जहाजलाई सहजै सञ्चालन गर्न सकिनेछ,’ प्रमुख थापाले भने, ‘पानीजहाज चार फिट गहिराइमै सञ्चालन गर्न सकिने बुझिएको छ ।’

उनले टोलीको प्रतिवेदनका आधारमा कर्णालीमा चारवटा पानीजहाज सञ्चालन गरिने बताए । उनका अनुसार कर्णालीमा ३० जनासम्म बोक्न सक्ने क्षमता भएको पानीजहाज चलाउन सकिने छ । प्रतिघण्टा ७० किलोमिटरसम्म पानी जहाज चल्छ । त्यसअनुसार एक पानीजहाजले एकदिनमा चारपटकसम्म ओहोरदोहोर गर्न सक्नेछ ।

‘कर्णालीमा पानीजहाज सञ्चालन भए अछाम, कैलाली, डोटी र सुर्खेतका विकट बस्तीहरूमा आवतजावत तथा मालसामान ढुवानीमा सहज हुनेछ उनले भने’, ‘कर्णालीलाई जलमार्गका रूपमा विकास गर्न सके चुरेमा भइरहेको क्षति न्यूनीकरण गर्न सकिने र विकट वस्तीमा विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ ।

उनले कर्णालीमा पानीजहाज सञ्चालन भएसँगै १ हजार बढी मानिस स्वरोजगार हुने अपेक्षा रहेको छ । पानीजहाज चलेसँगै त्यस क्षेत्रमा नयाँ–नयाँ रिसोर्ट खुल्ने र विभिन्न स्थानमा पर्यटकीय गन्तव्यका पार्कहरू निर्माणमा पहल चालिने बताए ।

उनले प्रदेश तथा स्थानीय तहको अनुदान र निजी क्षेत्रको लगानीमा पानीजहाज सञ्चालन गर्ने योजना अघि बढाएको बताए । उनले भने, ‘प्रदेश तथा स्थानीय तहको ५० प्रतिशत अनुदान र निजी क्षेत्रको ५० प्रतिशतमा पानीजहाज सञ्चालन गर्ने योजना बनेको छ ।’ उनले निजी क्षेत्रलाई पानीजहाज सञ्चालन गर्न आह्वान पनि गरिसकेको बताए ।

उनले वैशाख १ गतेभित्रै कर्णालीमा पानी जहाज सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनले पहिलोपटक पानीजहाज सञ्चालन गर्ने योजना अघि बढाइएको बताए । उनले कर्णालीमा पानीजहाजसँगै  र्‍याफ्टिङलाई पनि अघि बढाइने बताए । उनले र्‍याफ्टिङका लागि यस वर्ष स्थानीय तहले ५० जनालाई तालिम दिने तयारी गरेको बताए । राजधानी दैनिकबाट  

कैलाली कर्णाली नदी

विशेष