काठमाडौंको एक सहकारीका अध्यक्षद्वारा भिडियो बनाएर आफ्नै महिला कर्मचारीलाई बलात्कार गरेको खुलासा
काठमाडौंः बलात्कार अभियोगमा डिल्लीबजारस्थित दूरदर्शन ऋण तथा बचत सहकारी संस्थाका अध्यक्ष प्रमोदकुमार अधिकारी पक्राउ परेका छन् । डिल्लीबजारमा कार्यालय रहेको सहकारीका अध्यक्ष अधिकारीलाई पीडित युवतीको जाहेरीपछि गत २४ माघमा कालिमाटीस्थित महिला सेलले पक्राउ गरेको हो।
युवती सोही सहकारीमा कार्यरत कर्मचारी हुन् । युवतीले विभिन्न प्रलोभन दिएर अधिकारीले पटक–पटक बलात्कार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि घटना सम्बन्धमा आवश्यक अनुसन्धान गर्न परिसरले कालिमाटीस्थित महिला सेललाई निर्देशन दिएको थियो।
परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बलात्कार अभियोगमा अधिकारी पक्राउ परेको जानकारी दिए । पीडित युवती सहकारीमा केही वर्षदेखि कार्यरत थिइन् । यस क्रममा अधिकारीले युवतीलाई पदीय प्रभावमा पारी विविध प्रलोभन दिने गरेका थिए।।
अधिकारीले युवतीलाई शारीरिक सम्बन्ध राखेको भिडियो आफूले खिचेकाले सार्वजनिक गरिदिने धम्की दिने गरेको प्रहरीको भनाइ छ । सोही आडमा अधिकारीले युवतीमाथि पटक–पटक यौन शोषण गर्दै आएका थिए । जागिर पनि छाड्न नदिने र पटक–पटक यौन शोषण पनि गर्दै आएपछि युवतीले बाध्य भएर अधिकारीविरुद्ध प्रहरीमा जाहेरी दिएकी हुन् ।
‘अधिकारीले युवतीलाई प्रलोभन दिने गरेको पाइयो । सोही आडमा पटक–पटक बलात्कार गर्दै आएका रहेछन् । जति गर्दा पनि अधिकारीको चंगुलबाट फुत्किन नसक्ने भएपछि बाध्य भएर प्रहरीमा जाहेरी दिएको देखिन्छ । घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ,’ परिसरका प्रवक्ता डिएसपी बोगटीले भने। यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।
बलात्कार दूरदर्शन ऋण तथा बचत सहकारी